काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालय क्षेत्रमा बुधबार आएको भीषण बाढीले यार्डमा रहेका सयौँ कन्टेनर बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। बाढीले रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापार तथा ढुवानी प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको बताइएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङदोर्जे शेर्पाका अनुसार टिमुरे भन्सार यार्डमा रहेका करिब दुई सय कन्टेनर बाढीले बगाएको छ। त्यसैगरी चीनतर्फ सामान लिन जाने क्रममा लाइनमा रहेका करिब तीन सय कन्टेनरसमेत बाढीको चपेटामा परेका छन्।
“सयमा १० प्रतिशतजति मात्रै बाँकी होला,” सचिव शेर्पाले भने, “टिमुरेमै रहेका मेरा भाइहरूले गाउँ नै बगाएको जानकारी दिनुभएको छ। कन्टेनरहरू लाइनमै थिए रे। चीनतर्फ जाने बाटोको नक्सा नै छैन।”
उनका अनुसार एक्कासि आएको बाढीले टिमुरे क्षेत्रको सडक, भन्सार यार्ड तथा आसपासका संरचनामा व्यापक क्षति पुर्याएको छ। चीनतर्फ जाने सडकसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थलमार्गबाट आवतजावत असम्भवजस्तै बनेको बताइएको छ।
हेलिकप्टरमार्फत घाइतेको उद्धार
शेर्पाले प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पुगेको र त्यहाँबाट सातदेखि आठ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइएको जानकारी प्राप्त भएको बताए।
बाढी प्रभावित टिमुरे क्षेत्रमा पानीको बहाव केही कम हुन थालेको र टेलिफोन तथा सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेको बताइएको छ। यससँगै प्रभावित क्षेत्रको वास्तविक क्षतिको विवरण संकलन गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पनि बाढीमा सयौँ कन्टेनर तथा ठूलो संख्यामा मानिस परेको जानकारी आएको बताएका छन्।
उनका अनुसार एक्कासि आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षतिको विवरण संकलन कार्य जारी रहेकाले वास्तविक क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्