काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीको जोखिम नवलपरासी पूर्वको सुस्ता क्षेत्रसम्म फैलिन सक्ने जल विज्ञान तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बाढीको जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन । यसअघि चितवनको देवघाटसम्म जोखिम रहने अनुमान गरिए पनि पछिल्लो अवस्थाको विश्लेषण गर्दा जोखिम सुस्तासम्म फैलिन सक्ने देखिएको हो ।
केन्द्रका बाढीविद् सौहार्द जोशीले बाढीको जोखिमलाई मध्यनजर गर्दै सुस्ता आसपासका क्षेत्रमा समेत पूर्वतयारी थालिएको जानकारी दिए ।
उनका अनुसार बाढीको अवस्था अझै जोखिमपूर्ण रहेकाले सुस्तासम्मका स्थानीयवासीलाई सतर्क रहन आवश्यक छ ।
सुस्तामा एसएमएसमार्फत पूर्वसूचना
जल विज्ञान तथा अनुसन्धान केन्द्रले सुस्ता क्षेत्रका स्थानीयवासीलाई मोबाइल एसएमएसमार्फत बाढीको पूर्वसूचना पठाउने तयारी गरेको छ ।
पूर्वसूचना प्रणालीमार्फत सम्भावित बाढीबारे समयमै जानकारी गराएर स्थानीयवासीलाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन सहयोग पुग्ने केन्द्रको अपेक्षा छ ।
केन्द्रले नदीको जलस्तर तथा बाढीको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्