काठमाडौं । सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढी भूकम्पपछि गएको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ।
सरकारका तर्फबाट घटनाबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो झर्दा आकस्मिक रूपमा ठूलो बाढी आएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन्।
मन्त्री खनालका अनुसार भूकम्प र बाढीबीचको सम्बन्धबारे थप अध्ययन तथा पुष्टि आवश्यक छ।
उनले प्रतिनिधिसभा बैठकमा भने, ‘बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको, त्यसका कारणले बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाइ गर्नुपर्ने अवस्था छ।’
सरकारले हाल प्राप्त सूचनाका आधारमा भूकम्पका कारण उच्च हिमाली क्षेत्रमा हिमपहिरो गएको, त्यसबाट नदी वा खोलाको बहाव अवरुद्ध भएको र पछि जम्मा भएको पानी एक्कासि बाहिरिँदा विनाशकारी बाढी आएको हुनसक्ने सम्भावनामाथि अनुसन्धान गरिरहेको छ।
तर, बाढीको वास्तविक स्रोत र कारण भने अहिलेसम्म औपचारिक रूपमा पुष्टि भइसकेको छैन। सरकारले थप प्राविधिक अध्ययन, स्थल निरीक्षण तथा उपलब्ध तथ्यको विश्लेषणपछि घटनाको वास्तविक कारण सार्वजनिक गर्ने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्