बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको छ। बागलुङको ताराखोला गाउँपालिकाले बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार बसेको गाउँ कार्यपालिका बैठकले रसुवा र नुवाकोट जिल्ला विपद् कोषमा १/१ लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले जानकारी दिए।
बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको विपद् कोषबाट रकम उपलब्ध गराउने निर्णय गरिएको रिजालले बताए।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन्। बाढीको प्रभाव नुवाकोट तथा धादिङसम्म परेको छ।
बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्