काठमाडौं । बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन तथा आवश्यक समन्वयका लागि कृषि तथा वन मन्त्रालयअन्तर्गतका विभाग तथा निकायबाट र्यापिड एक्सन टिम परिचालन हुने भएको छ।
मन्त्रीले मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायलाई आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल संकलन गरी उद्धार, राहत, पुनर्स्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने गरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिएकी छन्।
बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुसँग सम्बन्धित क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल प्राप्त गर्न सम्बन्धित निकायलाई सक्रिय र समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिइएको छ।
मन्त्रीको निर्देशनअनुसार गठित र्यापिड एक्सन टिममा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. हरिबहादुर केसी, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. बरुणकुमार शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य तथा जल तथा मौसम विज्ञान विभागका उपसचिव विभूति पोखरेल रहेका छन्।
टोलीले सम्बन्धित क्षेत्रमा बाढीबाट भएको क्षतिको प्रकृति, परिमाण, प्रभावित क्षेत्र तथा तत्काल आवश्यकतासम्बन्धी विवरण संकलन गर्नेछ। संकलित विवरणका आधारमा तत्काल आवश्यक राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेछ।
मन्त्री चौधरीले विपद्बाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत, पुनर्स्थापना तथा आगामी कार्ययोजना निर्माणको आधार बनाउनुपर्ने बताएकी छन्। उनले सम्बन्धित निकायलाई प्रभावकारी, सक्रिय र समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिएकी छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्