काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।
हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको मन्त्री श्रेष्ठले बताए।
४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द
प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएका छन्।
त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनाको करिब ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिए।
बाढीले त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। विभिन्न १३२, ६६ तथा २२० केभीका प्रसारण लाइन र टावरमा समेत क्षति पुगेको छ।
रसुवामा विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भने आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको मन्त्री श्रेष्ठले बताए।
बाढीका कारण विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।
उद्धारसँगै विद्युत् पुनर्स्थापनाको तयारी
उद्धार तथा विद्युत् सेवा पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको मन्त्री श्रेष्ठले जानकारी दिए।
मन्त्री श्रेष्ठले बाढीबाट भएको क्षतिले देशको समग्र ऊर्जा प्रणालीमा चुनौती थपिएको बताए। यद्यपि, विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्न प्राधिकरणले आवश्यक काम अघि बढाइरहेको र सरकारले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्