काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवासहितका क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकारको साथ रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत बुधबार प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले देशलाई नै स्तब्ध बनाएको बताएका हुन्। उनले बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
शाहले आफन्त, परिवार तथा सर्वस्व गुमाएर शोकमा रहेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो कठिन घडीमा सरकार र सम्पूर्ण देशवासी पीडितको साथमा रहेको बताए। उनले बाढीमा परी घाइते भएका तथा अस्पतालमा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीको खबर प्राप्त भएलगत्तै सरकारले आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रलाई उद्धार तथा राहतमा परिचालन गरेको छ।
२५० भन्दा बढीको उद्धार
बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएकामध्ये घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले अहिलेको समय संवेदनशील रहेकाले घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने कार्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।
प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरी घाइतेको उद्धार तथा प्राथमिक उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रभावित क्षेत्रमा राहत पुर्याइने
आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायतका संघसंस्थासँग निरन्तर समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताए।
बाढी प्रभावित क्षेत्रका संघीय सांसदसँग परामर्श गरी स्थानीय तहमा आवश्यकताअनुसार सहयोग र सहजीकरण भइरहेको उनले जानकारी दिएका छन्। घाइते तथा प्रभावितको थप विवरण संकलन गर्ने काम जारी रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजीलाई अझ तीव्र पारिने र घाइते तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने बताएका छन्। उद्धार कार्य रातभर पनि जारी रहने उनले उल्लेख गरेका छन्।
उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। ती क्षेत्रमा पीडित परिवारलाई तत्काल खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था गरिने प्रधानमन्त्री शाहले बताएका छन्।
सडक, पुल र विद्युत् संरचना पुनर्निर्माण गरिने
प्रधानमन्त्री शाहले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने बताउँदै उनले विपद्का कारण पीडित नागरिकले आफूहरू एक्लो महसुस गर्न नहुने बताएका छन्।
उनले उद्धार, उपचार, खानपिन तथा बसोबासको जिम्मेवारी सरकारले लिने विश्वास दिलाउँदै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्