काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा आएको भीषण बाढीले बैंकिङ क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित भएको छ। बाढीले भोटेकोशी नदी आसपास सञ्चालनमा रहेका ९ वटा वाणिज्य बैंकका शाखामा क्षति पुर्याएको छ भने ती शाखामा कार्यरत करिब २६ जना कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा माछापुच्छ्रे बैंक, नबिल बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबी बैंकका शाखा सञ्चालनमा थिए।
तीमध्ये अधिकांश शाखा बाढीको उच्च प्रभावमा परेका छन्। पछिल्लो विवरणअनुसार नबिल बैंकका सबै कर्मचारी सम्पर्कमा आएका छन् भने अन्य बैंकका केही कर्मचारीसँग पनि क्रमशः सम्पर्क स्थापित भइरहेको संघले जनाएको छ।
शाखा तथा संरचनामा ठूलो क्षति
बैंकर्स संघका अनुसार प्रारम्भिक सूचनामा शाखा कार्यालयका भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ। बाढीको तीव्र बहावले शाखा रहेका बजार क्षेत्रमै व्यापक क्षति पुर्याएकाले कतिपय बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त वा बगाएको अवस्थामा पुगेका छन्।
तर, शाखाभित्र रहेको नगद, महत्वपूर्ण कागजात, कम्प्युटर तथा अन्य बैंकिङ उपकरण, फर्निचर, सर्भर र विद्युतीय सामग्रीको अवस्थाबारे भने यकिन हुन सकेको छैन।
सञ्चार सम्पर्क र भौतिक पहुँच अवरुद्ध भएकाले बैंकहरूले तत्काल विस्तृत क्षति मूल्यांकन गर्न सकेका छैनन्। बाढीले शाखा कार्यालयसँगै बैंकिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारमा समेत असर पारेको छ।
प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध हुँदा बैंकका केन्द्रीय कार्यालयलाई शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क गर्न र शाखाको वास्तविक अवस्था बुझ्न कठिन भएको छ। टेलिफोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सञ्चार सम्पर्क पूर्णरूपमा पुनःस्थापित हुन समय लाग्ने देखिएको छ।
कर्मचारीको सुरक्षा प्राथमिकतामा
नेपाल बैंकर्स संघले विपद्को समयमा कर्मचारीको सुरक्षा तथा उद्धारलाई पहिलो प्राथमिकता दिएको जनाएको छ। प्रभावित बैंकका कर्मचारीको खोज तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको संघले जनाएको छ।
कर्मचारीको अवस्थाबारे पूर्ण जानकारी प्राप्त भएपछि मात्रै शाखा कार्यालय तथा बैंकिङ सम्पत्तिमा भएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ।
बाढी प्रभावित शाखामा रहेको नगद तथा अन्य वित्तीय सम्पत्तिको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न सकिने स्थिति नरहेको संघले जनाएको छ। शाखामा प्रत्यक्ष पुगेर निरीक्षण गर्न नसकिएकाले नगद, कागजात, कम्प्युटर, एटीएम तथा अन्य उपकरणमा भएको क्षतिको विवरणसमेत यकिन हुन बाँकी छ।
सञ्चार तथा सडक सम्पर्क सहज भएपछि बैंकहरूले शाखागत रूपमा क्षतिको विस्तृत मूल्यांकन गर्नेछन्।
आर्थिक गतिविधि पनि प्रभावित
बाढीले बैंकका शाखामा मात्रै नभई टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा रहेका बजार, सडक, पुल, भन्सार पूर्वाधार तथा निजी र सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
क्षेत्रको ठूलो हिस्सा प्रभावित भएपछि नियमित आर्थिक गतिविधिसमेत अवरुद्ध भएको छ। बैंकिङ क्षेत्रका लागि अहिले कर्मचारीको सुरक्षित उद्धारसँगै क्षतिग्रस्त शाखा तथा बैंकिङ सेवा पुनः सञ्चालनमा ल्याउनु मुख्य चुनौती बनेको छ।
बैंकहरूले सञ्चार तथा भौतिक पहुँच सहज भएपछि शाखा कार्यालय, बैंकिङ उपकरण, अभिलेख तथा सम्भावित वित्तीय क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्