काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८६० जना अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ वटा रहेका छन्।
बाढीमा परी ७३ जना घाइते भएका छन्। तीमध्ये रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा तीन जना रहेका छन्।
८६० जना सम्पर्कविहीन
प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा २८ नेपाल प्रहरी, ४४ नेपाली सेना, १३ सशस्त्र प्रहरी, १९६ जना विद्युत् प्राधिकरण तथा जलविद्युत् आयोजनाका कर्मचारी र ५७९ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन्।
सम्पर्कविहीन पर्यटकमध्ये ४६६ जना विदेशी र ११३ जना नेपाली रहेको प्राधिकरणले जनाएको छ।
२३९ जनाको हवाई उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म २३९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकप्टरबाट २११ र निजी हेलिकप्टरबाट २८ जनाको उद्धार गरिएको हो।
रसुवाको टिमुरेबाट मात्रै १२३ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९४ नेपाली र २९ विदेशी नागरिक रहेका छन्।
खोज तथा उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका गरी ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन भएका छन्।
सडक र पुलमा ठूलो क्षति
बाढीले हालसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर पक्की सडकमा क्षति पुर्याएको प्राधिकरणले जनाएको छ। अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
प्राधिकरणका अनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा आएको गेग्रानसहितको बाढी भोटेकोशी हुँदै रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी पार गरेर त्रिशूली नदीमा पुगेको थियो। त्यसपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जोखिम सिर्जना भएको हो।
उद्धार र पुनःस्थापना प्राथमिकतामा
प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ। घाइतेको उपचारका लागि नुवाकोटसहितका अस्पतालमा विभिन्न सुरक्षा निकाय तथा स्वास्थ्य संस्थाका चिकित्सकीय टोली खटिएका छन्।
प्राधिकरणले अबको मुख्य प्राथमिकतामा सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार, प्रभावितलाई राहत, क्षतिको विस्तृत मूल्यांकन र सडक, पुल, विद्युत्, सञ्चार तथा खानेपानीजस्ता पूर्वाधारको पुनःस्थापना रहेको जनाएको छ। साथै विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने कार्यलाई पनि प्राथमिकता दिइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्