काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउनेका परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्दै अमेरिका यस विपद्को घडीमा नेपालको साथमा रहेको जनाएको छ।
अमेरिकी सरकारले बाढी प्रभावित समुदायको तत्काल सहयोगका लागि ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) उपलब्ध गराउने घोषणा गरेको छ । यो रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’ मार्फत आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायताका लागि खर्च गरिनेछ।
अमेरिकी विदेश मन्त्रालयले बाढीपछिको अवस्थाको अनुगमन गर्न र राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुऱ्याउन एक ‘विपद् प्रतिकार्य सल्लाहकार’ लाई सो क्षेत्रमा खटाउने जानकारी दिएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको सुरक्षाको विषयमा स्थानीय अधिकारीहरूसँग निकट समन्वय गरिरहेको जनाएको छ।
दूतावासले आपत्कालीन सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकहरूलाई इमेल वा तोकिएका हटलाइन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ। सो क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरू नजिकबाट नियाल्न, स्थानीय अधिकारीहरूका निर्देशनहरू पालना गर्न र आपत्कालीन सूचनाका लागि ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ मा आबद्ध हुन दूतावासले सुझाव दिएको छ।
दूतावासको विज्ञप्ति
काठमाडौँस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा बाढीपछिको अवस्थाको अनुगमन गर्न र राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुऱ्याउन एक ‘विपद् प्रतिकार्य सल्लाहकार’ लाई सो क्षेत्रमा खटाउने जानकारी दिएको छ। दूतावासले आफ्ना नागरिकहरूको सुरक्षाको विषयमा स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्