काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गर्दै विपत्तिको यस कठिन घडीमा निजी क्षेत्रले सरकार र समुदायसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ।
रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट आएका दृश्यले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै उहाँले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। अझै पनि आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका परिवारको पीडामा गोल्छा ग्रुप साथमा रहेको उहाँले बताउनुभएको छ।
“यस्तो कठिन घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता उद्धार, राहत तथा यस विपत्तिबाट प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु हो,” अध्यक्ष गोल्छाले भन्नुभएको छ, “निजी क्षेत्र पनि एकजुट भएर राहत तथा पुनःस्थापनाका प्रयासमा सक्दो योगदान दिनु हाम्रो साझा जिम्मेवारी हो।”
गोल्छा ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो पूर्ण साथ र ऐक्यबद्धता रहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्