काठमाडौं । नेपाली सेनाले रसुवामा आएको भोटेकोसी (टिमुरे) नदीको बाढीबाट प्रभावित क्षेत्रबाट ८९६ जनाको उद्धार गरेको छ।
सेनाका अनुसार बिहीबार साँझ ७ बजेसम्म ६९६ जनालाई हवाई र २०० जनालाई जमिनी मार्गबाट उद्धार गरिएको हो। टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट १०१ जना विदेशी नागरिकसहितको उद्धार गरिएको सेनाले जनाएको छ।
९०० जनालाई स्वास्थ्य सेवा
वीरेन्द्र अस्पतालबाट खटिएको चिकित्सकसहितको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रमार्फत ३५४ जना घाइतेलाई उपचार गरेको छ।
यस्तै, फिल्ड एम्बुलेन्समार्फत धुन्चे क्षेत्रमा ५४६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ। यसरी हालसम्म ९०० जनालाई स्वास्थ्य सेवा दिइएको छ।
ड्रोन र सैनिक डगबाट खोजी
खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक डग परिचालन गरिएको छ। रसुवा र नुवाकोटमा ४ हजार २०० भन्दा बढी नेपाली सेना परिचालन गरिएको छ।
त्यस्तै, नुवाकोटदेखि चितवनसम्म १ हजार २०० भन्दा बढी सैनिकले समन्वयात्मक रूपमा घाइते तथा प्रभावितको खोजी र उद्धार गरिरहेका छन्।
सेनाले पृथ्वी राजमार्गमा जमेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने तथा बाढी प्रभावित जिल्लामा शव खोजी र उद्धार गर्ने कामसमेत गरिरहेको जनाएको छ।
शुक्रबार पनि खोज तथा उद्धार जारी रहने
सेनाका अनुसार शुक्रबार नदी किनारमा शवको खोजी तथा व्यवस्थापन, आपत्कालीन उपचार र मैलुङ, टिमुरे तथा स्याफ्रुबेँसी क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइनेछ।
त्यस्तै, आसपासका टनेलमा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार र त्रिशूली–धुन्चे सडक सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकता दिइने सेनाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्