काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा र उनका श्रीमान् तथा व्यवसायी सम्भव सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।
देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आफूहरूले उक्त रकम प्रदान गर्ने निर्णय गरेको सम्भवले बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सम्भवले अहिलेको पहिलो प्राथमिकता मानिसहरूको ज्यान जोगाउनु रहेको उल्लेख गर्नुभएको छ।
‘अहिलेको पहिलो प्राथमिकता अझै पनि ज्यान जोगाउनु नै हो। आगामी दिनहरूमा राहत, पुनःस्थापना र पुनर्निर्माण जस्ता कठिन प्रश्न र कार्यहरू हाम्रा सामु आउनेछन्,’ उहाँले लेख्नुभएको छ।
संकटको यस घडीमा सहयोग गर्न सक्ने सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न उहाँले अपिलसमेत गर्नुभएको छ। सहयोगको रकम सानो वा ठूलोभन्दा पनि त्यसमा रहेको मानवीय भावना महत्वपूर्ण हुने उहाँको भनाइ छ।
उहाँले लेख्नुभएको छ, ‘कसैले आफ्नो गच्छेअनुसार दिएको १०० रुपैयाँ र अर्कोले दिएको १० लाख रुपैयाँको भावना उत्तिकै हो। सहयोग भनेको पैसा मात्र हुनुपर्छ भन्ने पनि छैन।’
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्