काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गत विभिन्न जलविद्युत् आयोजनामा कार्यरत दुई सयभन्दा बढी कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार चिलिमे जलविद्युत् आयोजनाका करिब १५ देखि २० जना, रसुवागढी जलविद्युत् आयोजनाका एक सयभन्दा बढी तथा थ्री ए पावर हाउसका करिब ४० देखि ४५ जना कर्मचारी सम्पर्कमा आएका छैनन्।
श्रेष्ठका अनुसार जलविद्युत् आयोजनाको सुरुङमार्गमा थुनिएका कर्मचारी तथा मजदुरको अवस्था अझै अज्ञात छ। बाढीपछि सुरुङभित्र ठूलो मात्रामा लेदो र अन्य सामग्री थुप्रिएकाले तत्कालै भित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको उनले बताए।
उनले सुरुङको प्रवेशद्वार तथा भित्रको अवस्थाबारे समेत यकिन जानकारी हुन नसकेको बताए। एक्स्काभेटर प्रयोग गरेर समेत लेदो हटाउन सम्भव नभएपछि वैकल्पिक उपाय अपनाएर उद्धार प्रयास भइरहेको छ।
सुरुङभित्र थुनिएकाहरूलाई अक्सिजन पुर्याउने उद्देश्यले विभिन्न स्थानमा प्वाल पार्ने प्रयास गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको उच्चस्तरीय टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायसँग समन्वय गरी कर्मचारी तथा अन्य सर्वसाधारणको खोजी र उद्धार कार्यलाई तीव्र बनाएको छ।
हवाई उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा खोजी र उद्धार कार्यलाई व्यवस्थित बनाउन डिजिटल नक्सा प्रणालीसमेत प्रयोगमा ल्याइएको छ।
भोटेकोशी क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिम कायमै रहेकाले सर्वसाधारण तथा उद्धार कार्यमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्