बागलुङ । देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएका छन्।
गुठी संस्थानले खड्कालाई कालिका भगवती गुठीको अध्यक्षमा नियुक्त गरेको हो। संस्थानबाट जिम्मेवारीसम्बन्धी पत्र प्राप्त भएपछि खड्काले गुठीको अध्यक्षको जिम्मेवारी पाएको बताए।
गुठीको सचिवमा निशान खड्का, कोषाध्यक्षमा सचिन खड्का तथा महिला सदस्यमा विद्या खड्का र मनकुमारी खड्का चयन भएका छन्। यसअघि २०८२ माघ २ गते भूपेन्द्र खड्कालाई कालिका भगवती गुठीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।
कालिका भगवती मन्दिरमा नयाँ वर्ष, बडादशैँ र चैत्राष्टमीमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। मनोकांक्षा पूरा हुने विश्वासमा पूजाका लागि देशभरबाट भक्तजन आउने गरेका छन्। पछिल्लो समय भारतबाट समेत भक्तजन मन्दिरमा आउने गरेका छन्।
किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेकी थिइन्। यही घटनासँग जोडिएको इतिहासअनुसार विसं १५९१ देखि बागलुङ कालिका भगवतीको मन्दिर स्थापना गरी मेला तथा पूजा सुरु भएको मानिन्छ।
मन्दिरबारे हालसम्म तीनवटा मात्र पुराना लेखोट फेला परेका छन्। मन्दिरको भित्तामा १४ शक्तिका मूर्ति कुँदिएका छन्। प्यागोडा शैलीमा निर्मित मन्दिरमा तामाको छाना लगाइएको छ भने १०८ वटा तामाका दियो जडान गरिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्