काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालासहितको टोलीले रसुवा–त्रिशूली क्षेत्रको भीषण बाढीबाट प्रभावित विभिन्न स्थानको स्थलगत निरीक्षण गरेको छ। टोलीले नुवाकोटको विदुर नगरपालिका, देवीघाट, त्रिशूली तथा आसपासका प्रभावित क्षेत्रमा पुगेर जनधनको क्षति, बेपत्ता नागरिकको अवस्था तथा उद्धार र राहत कार्यबारे जानकारी लिएको हो।
स्थलगत निरीक्षणपछि प्रवक्ता ज्वालाले प्रभावित क्षेत्रको अवस्था अत्यन्त भयावह र पीडादायी रहेको बताएका छन्। बाढीका कारण ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै उनले खोजी, उद्धार र राहत कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार प्रभावित क्षेत्रमा शवहरू विभिन्न स्थानमा फेला परिरहेका छन् भने घाइतेहरूको अवस्था पनि पीडादायी छ। आफन्त गुमाएका परिवारहरू गहिरो शोकमा रहेको भन्दै ज्वालाले यो विपद्ले राष्ट्रिय संकट र ठूलो मानवीय पीडा सिर्जना गरेको बताए।
‘अहिलेको सबैभन्दा ठूलो प्राथमिकता बेपत्ता नागरिकको खोजी तथा उद्धार, मृतकको शव व्यवस्थापन, घाइतेको शीघ्र उपचार र विस्थापित नागरिकका लागि तत्काल राहत तथा अस्थायी बसोबासको व्यवस्था हो,’ उनले भने।
प्रवक्ता ज्वालाले सरकारले उपलब्ध सम्पूर्ण जनशक्ति, संयन्त्र र स्रोतसाधन परिचालन गरी उद्धार कार्यलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए। साथै, विपद्को यस कठिन घडीमा सबै राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीय समुदाय एकताबद्ध भएर प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने उनको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टी पनि बेपत्ता नागरिकको खोजी, उद्धार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा सक्रिय रूपमा केन्द्रित हुने उनले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्