काठमाडौँ। बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।
आइतबार बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मीको टोलीले लेदोले पुरिएको सुरुङमा ड्रिलिङ गरी उद्धारको बाटो खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेरअघि सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’ पहिचान गर्न टोली सफल भएको हो ।
‘क्राउन’ पहिचान भएपछि ड्रिलिङबाट बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने काम सुरु गरिएको घटनास्थलबाट प्राप्त जानकारीमा उल्लेख छ ।
क्यामेरामार्फत सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउन यो प्रयासलाई महत्वपूर्ण मानिएको छ ।
उद्धार टोलीले उक्त प्वालबाट अक्सिजन तथा आवश्यक उपकरण पठाउँदै सुरुङभित्र थुप्रिएको लेदो र माटो हटाएर उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोली उद्धार कार्यमा निरन्तर खटिएको छ । सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाई सकुशल उद्धार गर्ने प्रयास भइरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्