काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह ३ मिटरसम्म बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ३ बजे जारी गरेको अपडेटअनुसार धादिङको गल्छीस्थित त्रिशूली नदी बाढीमापन केन्द्रमा जलसतह ३ मिटरसम्म बढेको हो।
महाशाखाका अनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको छ। वर्षाका कारण नारायणी नदी तथा यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६:२५ बजेसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै तथा गण्डकी, कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको थियो।
महाशाखाले ती क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी तथा खोलानाला आसपासका बासिन्दालाई जलसतहमा हुने परिवर्तनप्रति सचेत रहन भनिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्