नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–१६ डण्डामा बस र ट्रक ठोक्किँदा ३२ जना घाइते भएका छन् ।
बिरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको ना.८ ख ६१४५ नम्बरको फलामको पाइप बोकेको ट्रक खाना खानका लागि सडकमा रोकिराखेको अवस्थामा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०३८६ नम्बरको बस ओभरटेक गर्ने क्रममा ट्रकको पछाडिपट्टि ठोक्किएको प्रहरीले जनाएको छ ।
बसमा ३८ जना सवार रहेकामा दुर्घटनामा ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो । तीमध्ये रिता गन्दर्भ र तिलक परियारलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका चालक सल्यान कालीमाटी गाउँपालिका–६ का २७ वर्षीय तुलाराम थापा मगर र सहचालक बर्दिया बाँसगढी–६ का २३ वर्षीय अनिष गुरुङसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूमा रुकुमपूर्वकी ममता परियार, सुर्खेतकी रिता गन्दर्भ, बाँकेकी श्यामु विक, अछामका बिनोद नेपाली, बर्दियाका निरज थारु, बाँकेका करणसिंह ठकुरी, जुम्लाका महेन्द्र कडारा, सुर्खेतकी सपना बैदार, पश्चिम रुकुमका तिलक परियारलगायत छन् ।
त्यस्तै कालिकोट, बर्दिया, बाँके तथा सल्यानका अन्य यात्रुहरू पनि घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक बारा निजगढ नगरपालिका–११ का २५ वर्षीय अभिषेक कुँवर प्रहरी नियन्त्रणमा छन् । बस चालक उपचारपछि डिस्चार्ज भएसँगै उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्