बागलुङ । भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न बागलुङमा तीजका कार्यक्रम स्थगित गर्ने क्रम बढेको छ ।
जेन्जी पुस्ताका युवाहरू स्वतःस्फूर्त रूपमा संगठित भएर सामाजिक काममा सक्रिय प्रबुद्ध युवा समूहले तीजको अवसरमा आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगित गरी बाढीपीडितलाई राहत सामग्री र नगद सहयोग गरेको छ ।
समूहका अध्यक्ष रोहित सुनारका अनुसार देशमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरेर बाढीपीडितको सहयोगमा रकम खर्च गर्ने निर्णय गरिएको हो ।
प्रतियोगिताका लागि संकलित रकममध्ये ८५ हजार रुपैयाँ बाढीपीडितका लागि राहत सामग्री खरिदमा खर्च गरिएको छ । त्यस्तै १० हजार रुपैयाँ नेपाल पत्रकार महासंघको लेखनवृत्ति कोषमा सहयोग गरिएको सुनारले बताए ।
प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको उनले बताए ।
यसैगरी, बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित आदर्श टोल विकास समितिले बाढीपीडितका लागि ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
जैमिनी नगरपालिका–१ कुश्मीसेरास्थित सहारा क्लबले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्