काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको यकिन संख्या अझै निर्धारण गर्न कठिन रहेको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले सोमबार बाढीबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजी जारी रहेकाले वास्तविक संख्या यकिन हुन नसकेको बताइन्।
“सम्पर्कविहीनको संख्या अझै हामीलाई ठ्याक्कै थाहा छैन। खोजी भइराखेको छ,” महतले भनिन्।
उनका अनुसार अहिले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनालगायतका निकायबाट विवरण संकलन भइरहेको छ।
“अहिले सम्पर्कविहीनको संख्या कति हो भनेर यकिन पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ। स्थानीय पालिका, सीडीओ कार्यालयदेखि लिएर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज, हाइड्रोबाट संख्याहरू लिने गरेका छौँ,” उनले भनिन्।
४ हजार २०२ जना सम्पर्कविहीन
प्राधिकरणका अनुसार हालसम्म सम्बन्धित सरकारी तथा अन्य आधिकारिक निकायबाट प्राप्त विवरणमा ४ हजार २०२ जना सम्पर्कविहीन रहेको तथ्यांक आएको छ। उनीहरूको खोजी तथा पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ।
यद्यपि, विभिन्न निकायबाट प्राप्त विवरणमा दोहोरोपन वा विवरण अद्यावधिक हुन बाँकी रहेकाले अन्तिम संख्या फरक पर्न सक्ने देखिएको छ।
सडक र सञ्चार सेवा अधिकांश क्षेत्रमा सुचारु
बाढीका कारण अवरुद्ध भएका सडक तथा सञ्चार सेवा अधिकांश प्रभावित क्षेत्रमा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।
प्रवक्ता महतका अनुसार वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमनलाई क्रमशः सहज बनाइएको छ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको जनाएको छ।
उद्धार, राहत व्यवस्थापन, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता परिचालन र समन्वयलगायतका कामका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीबारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन्।
प्राधिकरणले सम्पर्कविहीनको संख्या अद्यावधिक गर्न विभिन्न निकायबाट प्राप्त विवरणलाई एकीकृत गर्ने तथा खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्