काठमाडौं । रसुवाको टिमुरेमा नदीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम बाढी अवलोकन तथा निगरानी प्रणालीअन्तर्गत सीसीटीभी क्यामेरा जडान गरिएको छ।
नदीको अवस्था निरन्तर निगरानी गर्नुका साथै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र सम्भावित बाढीजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सोमबार टिमुरेमा सीसीटीभी क्यामेरा जडान गरिएको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आइतबार बाढीसम्बन्धी पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउन निर्देशन दिएपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा रियल–टाइम बाढी निगरानी प्रणाली स्थापना गरिएको हो।
हाल प्रणाली सञ्चालनका लागि भीएसएटी जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। उक्त प्रणाली सोमबार रातिदेखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
क्यामेराबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिनेछ।
विशेषगरी नेपालको सीमावर्ती क्षेत्रमा नदीको पानीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचान गर्न नयाँ प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
यसबाट सम्भावित जोखिमबारे समयमै सूचना प्राप्त गरी सम्बन्धित निकाय तथा स्थानीय समुदायसम्म पूर्वसूचना प्रवाह, उद्धार तयारी र जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्