काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले बाढी प्रभावित जलविद्युत् आयोजनाका पावर हाउसमा पुगेर थुनिएका कर्मचारी तथा कामदारको तत्काल उद्धार गर्नुपर्ने बताएका छन्।
भोटेकोसी नदीको बाढीबाट प्रभावित विद्युत् आयोजनाको स्थलगत अनुगमनमा रहेका घिसिङले सुरुङभित्र खोजी गर्दा कर्मचारी नभेटिएपछि अब पावर हाउससम्मै पुगेर उद्धार गर्नुपर्ने बताएका हुन्।
घिसिङका अनुसार भदौ १४ गते आफूले टिमुरे, रसुवागढी टनेल र चिलिमे टनेलको रेकी गरेका थिए। त्यसपछि धुन्चेमा सुरक्षा निकायसँग भएको छलफलअनुसार भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउस जाने पहुँच सुरुङभित्र करिब २५० मिटरसम्म प्रवेश गरेर खोजी गरेको थियो।
तर उक्त सुरुङमा मानिस फेला नपरेको जानकारी आएको उनले बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत घिसिङले भनेका छन्, ‘कर्मचारीहरू टनेलभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसमा छिर्ने उपाय गरी त्यहाँ थुनिएर रहेका कर्मचारीको उद्धार तत्काल गरिनुपर्दछ।’
भोटेकोसी बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लाका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। कतिपय आयोजनाका संरचना क्षतिग्रस्त तथा सुरुङमा पानी र भग्नावशेष भरिएका कारण बेपत्ता कर्मचारी तथा कामदारको खोजी चुनौतीपूर्ण बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्