काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति हुने गरी आएको विनाशकारी बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ।
कुशीनगर जिल्ला प्रशासनका अनुसार हालसम्म नारायणी नदीबाट १३ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये ६ पुरुष र ७ महिला रहेका छन्।
भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार फेला परेका शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएका छन्। शव राख्ने स्थान सीमित भएपछि थप ७ शवलाई गोरखपुरस्थित एम्स पठाइएको छ।
थप शवको खोजी जारी
नारायणी नदीमा थप शव फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय प्रशासनले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ।
कुशीनगर प्रशासनका अनुसार एसडीआरएफ र एनडीआरएफका टोली नदी क्षेत्रमा निरन्तर खोजीमा खटिएका छन्। नदीको बहावसँगै बगेर आएका हुन सक्ने शव तथा मानव अवशेषको खोजी भइरहेको छ।
कुशीनगरका प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले शव फेला परेपछि प्रचलित नियमअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताएकी छन्।
उनका अनुसार भारतीय प्रशासनले नेपाली अधिकारीसँग पनि समन्वय गरिरहेको छ।
नेपाललाई पनि जानकारी गराउँदै
प्रमुख जिल्ला अधिकारी श्रीवास्तवका अनुसार बरामद शवबारे परराष्ट्र मन्त्रालयमार्फत नेपाली पक्षलाई जानकारी गराउने काम भइरहेको छ।
उनले स्थानीय पत्रकार गुड्डु निषादसँगको कुराकानीमा शवको पहिचान तथा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गरिने बताएकी छन्।
प्रशासनका अनुसार पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि पहिचान भएका वा नेपालसँग सम्बन्धित शव आवश्यक समन्वय गरी नेपाललाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइनेछ।
नदीले बगाएर भारतसम्म पुगेको आशंका
रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीले ठूलो संख्यामा मानिस बेपत्ता भएका बेला भारततर्फ नारायणी नदीमा अज्ञात शव फेला पर्न थालेका हुन्।
नेपालका विभिन्न नदी किनारमा समेत बाढीपछि ठूलो संख्यामा शव तथा मानव अवशेष फेला परिरहेका छन्। तीमध्ये कतिपयको पहिचान हुन नसक्दा परिवारसम्म शव पुर्याउन चुनौती भइरहेको छ।
यसैबीच भारतीय प्रशासनले नेपालबाट कुशीनगर पुग्ने आफन्त तथा सम्बन्धित व्यक्तिलाई सहयोग गर्न नियन्त्रण कक्षसमेत स्थापना गरेकोजनाएको छ।
नदीमा फेला परेका शवको वैज्ञानिक पहिचानका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच थप समन्वय आवश्यक देखिएको छ। विशेषगरी डीएनए परीक्षणमार्फत पहिचान गर्न सकेमा लामो समयदेखि आफन्तको अवस्थाबारे अनिश्चित रहेका परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउन सहज हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्