धादिङ । भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको भीषण बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
समितिले धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार, धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार, परेवाटार–आदमटार–बेलिनटार–मासटार तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई अस्थायी यातायात रुट कायम गरेको हो । यीमध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडक बढी प्रभावकारी देखिएको जनाइएको छ ।
करिब ३६ किलोमिटर लामो उक्त सडकका केही खण्डमा कालोपत्रे भइसकेको, केही स्थान स्तरोन्नतिको क्रममा रहेको तथा केही ठाउँमा तत्काल स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको छ । साथै कोशीखोलामा बेलिब्रिज राख्नुपर्ने आवश्यकता देखिएको छ । सांसद बोधनारायण श्रेष्ठले उक्त सडकको स्थलगत अनुगमनसमेत गरेका छन् ।
बैठकले वैकल्पिक सडक तत्काल सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारी तोकेको छ । धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्नेछ । त्यस्तै धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय भएको छ ।
बाढीका कारण धादिङबेँशीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा नियमित र सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । उनका अनुसार प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी रुट कायम गरिएको हो ।
यसैबीच भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्