काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएका विदेशी नागरिकको शव आफन्तलाई हस्तान्तरण गर्ने प्रक्रियालाई नेपालले अन्तिम रूप दिएको छ । भारतीय दूतावासका अनुसार विदेशी नागरिकको शव पहिचान तथा हस्तान्तरणका लागि आवश्यक कागजात तयार गर्ने, शवको तस्बिर तथा अन्य विवरण अभिलेख गर्ने, पोस्टमार्टम गर्ने र मृत्युको कारण पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ ।
शव पहिचानका क्रममा औँठाछाप, डीएनए वा रगतको नमुना संकलन गरिनेछ । त्यसपछि नेपालका सम्बन्धित अधिकारी र सम्बन्धित दूतावासबीच आवश्यक समन्वय पूरा गरी शव हस्तान्तरणको प्रक्रिया अघि बढाइनेछ । मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध शवको तस्बिर तथा विवरणका आधारमा पहिचान गर्न सकेमा काठमाडौंस्थित सम्बन्धित दूतावासले नेपाली अधिकारीसँग समन्वय गरी शव हस्तान्तरण तथा सम्बन्धित मुलुक पठाउने प्रक्रिया अघि बढाउनेछ ।
ठूलो संख्यामा शव फेला परेकाले स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सरकारले शवलाई अस्थायी रूपमा सुरक्षित संरक्षण गर्ने व्यवस्था गरेको भारतीय दूतावासले जनाएको छ । शवको पहिचानका लागि मृतकका आफन्तबाट संकलन गरिएको डीएनए नमूनासँग शवबाट लिइएको डीएनए मिलान गरिनेछ ।
यदि शवको प्रत्यक्ष पहिचान हुन नसकेमा वा शव अस्थायी रूपमा गाडिएको अवस्थामा समेत नेपाल सरकारले डीएनए मिलान प्रक्रियामा सहयोग गर्नेछ । शवको डीएनए प्रोफाइल तयार गर्न नमुना संकलन भइरहेको जनाइएको छ ।
मृतकका आफन्तले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन सक्ने वा डीएनए मिलानका लागि रगतको नमुना उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । बीबीसीका अनुसार शव पहिचान तथा हस्तान्तरणका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय भइरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्