काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा उत्पन्न बहुआयामिक समस्या सम्बोधन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश र प्रहरी युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको हो ।
परिचालित प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन् । यस्तै प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र अन्य युनिटबाट २२२ जना प्रहरी परिचालन गरिएको छ । विपद्सम्बन्धी कार्यको समन्वयका लागि प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ ।
विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा २४ घण्टा सञ्चालन हुने विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रसमेत गठन गरिएको छ । घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरिएको छ ।
वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा पाँच तथा त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ । विमानस्थलमा देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेको लगत तयार पार्न एसपीको नेतृत्वमा आठ सदस्यीय डेस्क स्थापना गरिएको छ ।
ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोन प्रयोग
खोजी तथा अनुसन्धानलाई तीव्र बनाउन रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन परिचालन गरिएको छ । पैदल गस्ती कठिन हुने दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी भइरहेको प्रहरीले जनाएको छ । खोजीका लागि पाँचवटा तालिमप्राप्त कुकुर र सञ्चार सम्पर्कविहीन क्षेत्रमा सूचना आदानप्रदानका लागि सातवटा स्याटेलाइट फोनसमेत प्रयोगमा ल्याइएको छ ।
घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली तथा शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूको विशेष टोली खटाइएको छ । घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
चोरी, लुटपाट र ठगीमा संलग्न पक्राउ
विपद्पछि हुन सक्ने चोरी, लुटपाट तथा ठगी नियन्त्रणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी चितवनका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ ।
यस्तै धादिङको गल्छी–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ तोडेर नगद रकम हिनामिना गरेको आरोपमा २९ जना स्थानीयलाई नियन्त्रणमा लिइएको छ । उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछापको गोकुलगंगा–२ का ३२ वर्षीय सृजन कार्कीसमेत पक्राउ परेका छन् ।
यसैगरी गल्छी–६, बैरेनीमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ । उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ । परेवाटार–मलेखु क्षेत्रमा त्रिशूली नदीको बगरमा अर्को नफोडिएको सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको छ ।
चितवनमा मात्रै ७५७ प्रहरी परिचालन
बाढीको बहाव पहाडबाट तराईतर्फ झर्दै गर्दा सम्भावित जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षाका लागि चितवनको नारायणी नदी आसपास मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ । भौतिक अवरोध हटाउने, फेला परेका सामग्री व्यवस्थापन गर्ने, राहत वितरणमा सहजीकरण गर्ने तथा प्रभावित नागरिकको उद्धारमा समेत प्रहरी सक्रिय रहेको जनाएको छ ।
प्रहरीले विपद्को संवेदनशील अवस्थामा प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै सामुदायिक सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्