मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभिरमा सडक भासिएपछि सँगैको भिर काटेर डाइभर्सन खोलिएको छ । करिब चार मिटर चौडाइ र एक सय मिटर लम्बाइको डाइभर्सन खोलिएको पृथ्वी राजमार्ग नौबिसे–मलेखु पुनर्निर्माण आयोजनाका इन्जिनियर राजीव मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्य राजमार्ग भासिएपछि यातायात सञ्चालनमा ल्याउन सडकसँगैको भिर काट्नुपर्ने अवस्था आएको थियो । साना–साना पहिरो पन्छाउँदै डाइभर्सन निर्माण गरिएको उहाँले बताउनुभयो । गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा त्रिशूली नदीको निरन्तर कटानका कारण करिब एक सय मिटर सडक भासिएको हो ।
परेवाभिरसँगै बेनिघाट रोराङ गाउँपालिका–७ शीतलबजारमा पनि करिब २० मिटर सडक चिरिएर भासिएको छ । सडक भासिने तथा चिरिने क्रम अझै जारी रहेको इन्जिनियर मानन्धरले बताउनुभयो ।
यसैबीच पृथ्वी राजमार्गकै कृष्णभिरमा सडक भासिएपछि यातायात सञ्चालनका लागि वैकल्पिक मार्गको खोजी भइरहेको छ । कृष्णभिरमा करिब १२० मिटर सडक नालीसहित भासिएको छ ।
कृष्णभिरको विकल्पका रूपमा हेरिएको फिस्लिङ–बेनिघाट (गोरखा) सडकको अहिले अध्ययन भइरहेको इन्जिनियर मानन्धरले जानकारी दिनुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्