काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि सारेको नयाँ ‘थर्ड–कन्ट्री डिपोर्टेसन’ अर्थात् तेस्रो मुलुकमा आप्रवासीलाई निर्वासन गर्ने नीतिमाथि गम्भीर प्रश्न उठेको छ । द न्युयोर्क टाइम्सका अनुसार यस नीतिअन्तर्गत अमेरिकाबाट निर्वासित गरिएका आप्रवासीमाथि अमानवीय व्यवहार तथा मानवअधिकार उल्लङ्घन भएको आरोपसहितका घटनाहरू सार्वजनिक भएका छन् ।
रिपोर्टअनुसार अमेरिकाबाट करिब १४ घण्टाको चार्टर्ड उडानमार्फत क्युबा, भेनेजुएला र ब्राजिलका कैयौँ आप्रवासीलाई उनीहरूको कुनै प्रत्यक्ष सम्बन्ध नभएका लाइबेरिया र इक्वेटोरियल गिनीजस्ता अफ्रिकी मुलुकमा पुर्याइएको छ । तीमध्ये ४९ वर्षीय क्युबाली नागरिक साञ्चेजलाई लुइसियानाबाट अफ्रिका लैजाने क्रममा हतकडी लगाउनुका साथै कम्मरमा फलामको साङ्लोले बाँधिएको बताइएको छ । पुरानो शल्यक्रिया र गोलीको चोटका कारण पीडित उनले उपचार तथा शौचालय जानका लागि अधिकारीसँग आग्रह गरे पनि साङ्लो खोल्न अस्वीकार गरिएको र अन्ततः लुगामै पिसाब गर्नुपरेको दाबी गरेका छन् ।
भेनेजुएलाका कार्लोस टेलेज–साञ्चेजलाई अदालतले ‘स्टे अर्डर’ जारी गरेको अवस्थामा समेत ‘वर्क परमिट’ नवीकरण गर्न जाँदा पक्राउ गरिएको र आठ महिनासम्म जेलमा राखिएपछि लाइबेरिया पठाइएको रिपोर्टमा उल्लेख छ । उनले आफूहरूमाथि जनावरजस्तो व्यवहार गरिएको बताएका छन् ।
त्यस्तै ब्राजिलकी २१ वर्षीया पाओला डस सेन्तोसलाई निर्वासन गर्नुअघि १५ महिनासम्म अत्यन्त चिसो कोठामा राखिएको बताइएको छ । उक्त कोठामा करिब ५० जनाका लागि एउटा मात्र शौचालय रहेको र सन्तानबाट अलग गरिएकी उनले आफूलाई गाईवस्तुझैँ बाँधेर राखिएको दाबी गरेकी छन् ।
आफ्नै मुलुकमा नपठाउन अदालतबाट ‘स्टे अर्डर’ पाएका केही आप्रवासीलाई समेत तेस्रो मुलुकमा जबर्जस्ती पठाइएको आरोप लागेको छ । यसले अमेरिकी प्रशासनको आप्रवासन नीतिमाथि कानुनी तथा मानवअधिकारसम्बन्धी प्रश्न थप चर्काएको छ ।
विवाद बढेपछि अमेरिकी गृह तथा विदेश मन्त्रालयले भने आफ्नै मूल देश फर्कन नसक्ने आप्रवासीलाई मात्र तेस्रो मुलुकमा पठाइएको दाबी गरेका छन् । हिरासतमा रहेका व्यक्तिलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराइएको उनीहरूको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्