काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि हुन सक्ने चोरी, लुटपाट तथा ठगीजस्ता अराजक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
बाढीले बगाएर नारायणी नदीमा ल्याएको एक महिलाको शवबाट सुनका मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरी पक्राउ परेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विपद्को समयमा पीडितमाथि हुने चोरी, लुटपाट तथा यस्ता अमानवीय गतिविधि कुनै पनि हालतमा सह्य नहुने प्रहरीले जनाएको छ ।
यसैगरी बाढीले बगाएर धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ तोडेर नगद रकम हिनामिना गरेको आरोपमा प्रहरीले २९ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गल्छी गाउँपालिका–६, बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको थियो । उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ ।
यस्तै परेवाटार–मलेखु क्षेत्रमा त्रिशूली नदीको बगरमा नफोडिएको अवस्थामा अर्को सेफसमेत फेला परेको छ । मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्