काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले भोटेकोसी बाढीपछि फेला परेका शवको पहिचान तथा सम्मानजनक अन्त्येष्टिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार (भदौ १६) बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिनसमेत सरकारसँग आग्रह गरिन् ।
सांसद पन्तले फेला परेका शवको पहिचान र व्यवस्थापनमा मानवीय संवेदनशीलतालाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् । आवश्यकताअनुसार डीएनए तथा फिंगरप्रिन्ट प्रविधिको प्रयोग गरी शवको पहिचान गर्नुपर्नेमा जोड दिँदै उनले पहिचान हुन नसकेका शवको समेत सम्बन्धित धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सम्मानजनक अन्त्येष्टिको व्यवस्था गर्न आग्रह गरिन् ।
उनले विपद्को समयमा संघीय सरकारले एक्लै काम गर्नेभन्दा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । “देशमा तीन तहका सरकार छन् । तर संघीय सरकारले समन्वय गरिरहेको छैन भनिँदै छ,” उनले भनिन्, “यस्तो तरिकाले सरकार अघि बढ्यो भने समस्याबाट मुक्ति पाउन सकिँदैन ।”
सडक पहुँच नभएका तथा दुर्गम क्षेत्रमा तत्काल हवाई माध्यमबाट राहत सामग्री पुर्याउनुपर्नेमा समेत पन्तले जोड दिइन् । उनले विपद्का कारण कुनै पनि नागरिकलाई सहाराविहीन अवस्थामा छाड्न नहुने बताइन् । “एउटा पनि नागरिक सहाराविहीन हुनु हुँदैन,” उनले भनिन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्