महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि मंगलबार (भदौ १६) बिहानैदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने आवागमन प्रभावित भएको छ । महाकालीमा जलस्तर बढेसँगै नेपाल–भारत आवतजावत गर्ने चारपांग्रे सवारीसाधनलाई शारदा ब्यारेज (वनबासा पुल)मा भारतीय पक्षले रोक लगाएको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार मंगलबार दिउँसो महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेको थियो । उनका अनुसार बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको कारण भारतीय पक्षले चारपांग्रे सवारीसाधनलाई वनबासा पुलबाट आवतजावत गर्न दिँदैन ।
पहाडी जिल्लासँगै कञ्चनपुरमा पनि वर्षा भइरहेकाले महाकालीको बहाव अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । करिब एक सय वर्ष पुरानो वनबासा पुल जीर्ण रहेकाले वर्षायाममा नदीको बहाव बढ्दा सुरक्षाका लागि सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको हो ।
चारपांग्रे सवारीसाधनमा रोक लगाए पनि मोटरसाइकल तथा पैदलयात्रामा भने रोकावट नरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक गुरुङले बताए । उनका अनुसार नदीको जलस्तर घटेपछि वनबासा पुलबाट आवागमन पुनः सहज हुनेछ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्