काठमाडौं, ७ वैशाख । मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ ।बिहीबार राति १० बजेर १० मिनेटमा काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको ओ डी १८१ कल साइनको जहाज रन-वेबाट चिप्लिएको हो । जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको छ।
काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए । घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले बताए । उनीहरुको सकुशल उद्दार गरिएको छ । विमानले ९ बजेर ४५ मिनेट जाँदा विमानस्थलबाट उडान भर्नुपर्ने थियो ।
विमान धावनमार्गबाट चिप्लिएपछि यतिबेला विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान नहटाई धावनमार्ग खुल्ने अवस्था नभएको बताए । अवतरण गरिनुपर्ने विमानहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्