काठमाडौं । लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापाविरुद्ध फौजदारी कारबाहीका लागि निवेदन दर्ता गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खातामा रकम जम्मा भएको विषय सार्वजनिक गरेपछि रास्वपा लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत पत्रकार थापाविरुद्ध फौजदारी कारबाही प्रक्रिया अघि बढाएको महासंघको लमजुङ शाखाले जनाएको छ।
रकम अन्य खातामा जम्मा भएको विषयमा आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुको साटो पत्रकारमाथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढाइनु आपत्तिजनक भएको महासंघले जनाएको छ।
महासंघले पत्रकारले सार्वजनिक सरोकारको विषय उठान गरेकै आधारमा कानुनी कारबाहीको दबाब सिर्जना गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाको आवश्यक छानबिन गरी पत्रकारमाथि लगाइएको आरोप फिर्ता लिन सम्बन्धित पक्षसँग माग गरेका छन्।
महासंघले पत्रकार थापामाथि अपनाइएको शैलीको निन्दा गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्