काठमाडौं । भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न मानव अंगसहित १ हजार २०४ शव फेला परेको जनाएको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शव तथा मानव अंग फेला परेका छन्। रसुवाको टिमुरेबाट थप शव ल्याइएसँगै त्यहाँ ११५ वटा शव फेला परेको विवरणमा उल्लेख छ।
त्यस्तै नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका छन्।
बाढीले बगाएर विभिन्न नदी तथा खोलाको तल्लो तटीय क्षेत्रमा पुर्याएका शव र मानव अंगसमेत खोजीका क्रममा संकलन गरिएको प्राधिकरणले जनाएको छ।
५ सयभन्दा बढी शव जमिनमा पुरियो
ठूलो संख्यामा शव फेला परे पनि पहिचान हुन नसक्दा आफन्तले बुझ्न पाएका छैनन्।
प्रहरीका अनुसार ५ सयभन्दा बढी शव पहिचान हुन नसकेपछि जमिनमा पुरिसकिएको छ। सोमबारसम्म पहिचान हुन नसकेका शवलाई आवश्यक कानुनी तथा फरेन्सिक प्रक्रिया पूरा गरेर व्यवस्थापन गरिएको हो।
अहिले फेला परेका शवलाई पनि केही दिनसम्म पहिचानका लागि सुरक्षित राखिनेछ। सो अवधिमा आफन्तबाट पहिचान हुन नसकेमा डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गरी शवलाई जमिनमा पुरिने प्रहरीले जनाएको छ।
यसअघि नेपाल प्रहरीले बेपत्ता व्यक्तिका नजिकका आफन्तबाट डीएनए नमुना संकलन सुरु गरिसकेको छ। परिवारका सदस्यबाट संकलित नमुना र फेला परेका शव तथा मानव अंगबाट प्राप्त डीएनए तुलना गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।
९५ शव मात्रै आफन्तले बुझे
बाढीमा मृत्यु भएको लामो समय बितिसक्दा पनि हालसम्म ९५ वटा शव मात्रै आफन्तले बुझेका छन्।
एकातिर मृतकको संख्या लगातार बढिरहेको छ भने अर्कोतिर हजारौँ परिवार आफ्ना आफन्तको अवस्थाबारे अझै अनिश्चित छन्। पहिचान हुन नसकेका शवका कारण परिवारका सदस्यहरूले अन्तिम संस्कारसमेत गर्न पाएका छैनन्।
४ हजार २१६ जना अझै बेपत्ता
भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोलीले नदी किनार, बस्ती, सडक, पुल तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी जारी राखेका छन्।
तर बाढीको व्यापक क्षति, नदीको बहाव, पुरिएका संरचना र शव तथा मानव अंग विभिन्न स्थानमा छरिन पुगेका कारण बेपत्ताको खोजी र मृतकको पहिचान प्रक्रिया चुनौतीपूर्ण बनेको छ।
यसैबीच सरकारले फेला परेका पहिचान नखुलेका शवको अभिलेख व्यवस्थित गर्दै डीएनए प्रोफाइलिङमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। यसले लामो समयदेखि आफ्ना आफन्तको प्रतीक्षामा रहेका परिवारलाई कम्तीमा उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त गर्ने आशा जगाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्