देउखुरी । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल–इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो।
भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा तथा प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको बताए।
कृषि प्रविधि किसान र युवासम्म पुर्याउने प्रस्ताव
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताए।
विशेषगरी इजरायलको कृषि प्रविधि, ज्ञान र सीप प्रदेशका किसान तथा युवासम्म पुर्याउन सहकार्य गर्न सकिने उनको भनाइ थियो।
भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराएका थिए। उनले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए।
‘लर्न एन्ड अर्न’ कार्यक्रम विस्तार गरिने
इजरायली राजदूतावासले कृषि क्षेत्रमा सञ्चालन गर्दै आएको ‘लर्न एन्ड अर्न’ कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।
राजदूतावासका तर्फबाट युवालाई कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने ११ महिनाको उक्त कार्यक्रमलाई थप विस्तार गर्न सकिने जानकारी गराइएको थियो।
नेपालका युवालाई आधुनिक कृषि प्रविधि र व्यावहारिक सीपसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने भएकाले प्रदेश तहमा समेत सहकार्य विस्तार गर्न सकिनेमा जोड दिइएको छ।
विपद्पछि मनोसामाजिक सहयोगको प्रस्ताव
भेटमा इजरायली राजदूतावासले नेपालमा पछिल्लो समय बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको थियो।
राजदूतावासले विपद्पछिको अवस्थामा मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग गर्न सकिने बताएको छ।
भेटवार्ताले नेपाल–इजरायलबीचको सहकार्यलाई संघीय सरकारको तहबाट प्रदेशस्तरसम्म विस्तार गर्दै विशेषगरी कृषि प्रविधि, युवा सीप विकास, शिक्षा र विपद् व्यवस्थापनमा साझेदारीका नयाँ सम्भावना खोज्ने आधार तयार गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्