काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच मंगलबार भेटवार्ता भएको छ।
लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा पछिल्लो समय भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा जारी खोज तथा उद्धार अभियानबारे छलफल भएको हो।
भेटका क्रममा राजदूत माओले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका थिए।
उनले विपद्का बेला नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन चीन तयार रहेको जानकारी दिँदै विपद्को सुरुवातदेखि नै चीनले उद्धारकर्मी, डीएनए पहिचान विज्ञलगायत आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिरहेको बताएका थिए।
आवश्यकता रहेसम्म चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि राजदूत माओले व्यक्त गरेको बताइएको छ।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
लामिछानेले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यलाई थप विस्तार गर्न आग्रह गरेका थिए।
भेटमा पछिल्लो विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्