बागलुङ । गत वर्षको दर्लिङ पहिरोको त्रास अझै मेटिएको छैन। सामान्य पानी पर्दासमेत बडिगाड गाउँपालिका–९ र १० का स्थानीयवासी डराउनुपर्ने अवस्था छ। २०८१ साउनमा गएको भीषण पहिरोमा ११ जनाको ज्यान गएको थियो भने दर्जनौँ घर बगेका थिए।
त्यो विपद्को पीडा सेलाउन नपाउँदै यस वर्षको वर्षाले बडिगाडका विभिन्न बस्ती र सडकलाई पुनः प्रभावित बनाएको छ। साउनयता लगातारको वर्षाले बस्ती तथा ग्रामीण सडकमा क्षति पुर्याएको छ। केही दिनअघि परेको वर्षाका कारण मात्रै बडिगाड–९ दर्लिङखोलामा एक लघुजलविद्युत आयोजनासहित १७ घर उच्च जोखिममा परेका छन्।
पहिरोका कारण कतिपय परिवार विस्थापित भएका छन् भने केहीले छिमेकीको घरमा आश्रय लिएर रात बिताइरहेका छन्।
पहिरोले घरगोठमा क्षति, परिवार विस्थापित
गत साउन १९ गते बडिगाड–४ जलजलाका लालबहादुर विकको घरगोठ पहिरोले क्षति पुर्यायो। सोही क्षेत्रका छिमेकी ओमबहादुरको परिवार पनि विस्थापित भएको छ।
त्यसअघि साउन ११ गते जलजला छापहिलेका दुर्गाबहादुर दर्लामीको गोठसहितको घर पहिरोले क्षति पुर्याएपछि बस्नै नमिल्ने अवस्थामा पुगेको थियो। क्षतिपछि लायन्स क्लबले उनको परिवारलाई सहयोग गरेको थियो। वडाध्यक्ष मिलन रेश्मीले घर पुनर्निर्माणका लागि व्यक्तिगत रूपमा जस्तापाता सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
साउन २८ गते बडिगाड–५ जोगीबगरका लोकबहादुर थापाको घरमा पहिरोले क्षति पुर्याएपछि उनको परिवार अहिले छिमेकीको आश्रयमा छ।
बडिगाड–९ खहरेकी सुनिता विकको घर पनि यस वर्ष पहिरोको चपेटामा परेको छ। घरमा क्षति भएपछि उनको परिवारले छिमेकीको घरमा रात बिताउनुपरेको छ।
“गत वर्ष घरमा पहिरोले क्षति गरेको थियो। राहत त्यो बेला पनि कतैबाट मिलेन। योचोटि पनि अरूको घरमा बस्नुपरेको छ। दुःखीलाई सधैँको दुःख,” सुनिताले भनिन्।
दर्लिङखोलामा १७ घर उच्च जोखिममा
बडिगाड–९ दर्लिङखोलामा मात्रै १७ घर पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। पालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालय भीमगिठेको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा एक लघुजलविद्युत आयोजनासहित १७ घर उच्च जोखिममा रहेको पहिचान भएको हो।
अनुगमनका क्रममा खहरे, मयङ्ग, चर्च, गाउँ र बसुन्धरा टोलका ७ घर, खालकोट–नुन्थला–बल्घाँस क्षेत्रका ५ घर तथा बल्घाँस असारे टोलका ३ घर उच्च जोखिममा देखिएका छन्।
त्यस्तै थालेबाँज–बल्घाँस र घर्तिटोल–बल्घाँसका एक–एक घर तथा नरसिङ–कुतखोला लघुजलविद्युत आयोजनाको पावर हाउससमेत पहिरोको उच्च जोखिममा रहेको बताइएको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। तर कतिपय परिवारले घर छाड्न नमानेका कारण थप मानवीय क्षतिको जोखिमसमेत रहेको छ।
“पहिरोले घर पूर्णरूपमा क्षति भएको छ। नागरिकलाई सुरक्षित गर्न पूर्ण प्रयास गरेका छौँ। उहाँहरू घर छोड्न नमान्दा थप मानवीय क्षति हुने हो कि भन्ने डर छ। राहतका लागि पालिकामा अनौपचारिक छलफल भइरहेको छ,” स्थानीय जनप्रतिनिधिले बताए।
जुनसुकै बेला ठूलो पहिरो खस्ने खतरा
वडाध्यक्ष कृष्णबहादुर केसीका अनुसार बतासे–छिपछिपे र छिपछिपे–घर्तिटोल खण्डको मोटरबाटोमाथिको जमिन धसिएको छ। त्यस क्षेत्रमा जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने जोखिम रहेको उनले बताए।
धनगाडे र खानीटोपामा थप पहिरो गएपछि जोखिम झन् बढेको उनको भनाइ छ।
काब्राखर्क, सालफुङ, तोरीखर्क, रानीखर्क र गाउँबाट सिद्ध माध्यमिक विद्यालय तथा विद्या प्रकाश प्राथमिक विद्यालय जोड्ने सडकखण्डमा समेत पहिरोको जोखिम रहेको छ।
“हामीले अभिभावकलाई सावधानीपूर्वक आफ्ना नानीबाबुलाई विद्यालय ल्याउने–लैजाने र आफैँ यात्रा गर्दा पनि सतर्क रहन आग्रह गरेका छौँ,” वडाध्यक्ष केसीले भने।
वडा कार्यालयसम्म सडक, दर्लिङ हुँदै गुल्मी जाने बाटो ठप्प
पहिरोका कारण बडिगाडका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। वडा कार्यालयसम्म जसोतसो सवारी सञ्चालन भए पनि वडा कार्यालयदेखि वडा नं. १० दर्लिङ हुँदै गुल्मी जाने सडक भने पूर्णरूपमा अवरुद्ध छ।
सडक अवरुद्ध हुँदा जोखिममा रहेका बस्तीमा राहत तथा उद्धार सामग्री पुर्याउनसमेत चुनौती थपिएको छ।
गत वर्षको विनाशकारी पहिरोको घाउ बोकेका स्थानीयका लागि यस वर्षको वर्षा फेरि अर्को परीक्षाजस्तै बनेको छ। घरमाथिको जमिन चर्किन थालेपछि कतिपय परिवार दिनभर घर छाडेर सुरक्षित स्थान खोज्न बाध्य छन् भने रात पर्दा पहिरोको डरले निदाउन सकिरहेका छैनन्।
बडिगाडमा अहिले आवश्यकता केवल राहतको होइन—जोखिममा रहेका परिवारको तत्काल सुरक्षित स्थानान्तरण, जोखिमयुक्त सडक तथा बस्तीको प्राविधिक मूल्यांकन र दीर्घकालीन पहिरो नियन्त्रणको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्