काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवनपद्धतिको अनुपम संगम भएको सुन्दर राष्ट्र भएको उल्लेख गर्नुभएको हो।
उहाँले नेपालका विभिन्न समुदायका आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज तथा चाडपर्व रहेको उल्लेख गर्दै यिनै विविधताले नेपाली समाजलाई समृद्ध बनाएको बताउनुभएको छ।
जन्माष्टमी : सत्य, न्याय र प्रेमको सन्देश
सभापति थापाले भगवान् श्रीकृष्णको जन्म भएको पावन दिनको स्मरणमा मनाइने श्रीकृष्ण जन्माष्टमी सत्य, न्याय, कर्तव्य, प्रेम, करुणा र मानव कल्याणका आदर्शलाई आत्मसात् गर्ने प्रेरणादायी पर्वका रूपमा रहेको बताउनुभएको छ।
उहाँका अनुसार जन्माष्टमी केवल धार्मिक आस्थाको पर्व मात्र नभई मानव जीवनमा सत्य र न्यायको पक्षमा उभिन तथा प्रेम, करुणा र कर्तव्यको भावनालाई व्यवहारमा उतार्न प्रेरणा दिने अवसर पनि हो।
गौरा : सांस्कृतिक गौरव र पारिवारिक आत्मीयताको प्रतीक
त्यस्तै, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग अभिन्न रूपमा जोडिएको गौरा पर्व नेपालको सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको उहाँले उल्लेख गर्नुभएको छ।
गौरा पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै परिवार तथा समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ।
सभापति थापाले दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप बलियो बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
Originally published on abcnews.com.np.




प्रतिक्रिया दिनुहोस्