काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)को चौथो वार्षिक साधारणसभाले सन् २०२६–२०२९ का लागि नयाँ नेतृत्व चयन गरेको छ।
साधारणसभाबाट आगामी तीन वर्षका लागि ९ सदस्यीय बोर्ड निर्वाचित भएको हो। नवनिर्वाचित बोर्डको अध्यक्षमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं चयन भएका छन्।
त्यस्तै, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण बिष्ट उपाध्यक्ष, अलाया नेपालकी जेनेरल म्यानेजर श्रेया श्रेष्ठ महासचिव र जेस्पर आईटीका सीईओ सागर केसी कोषाध्यक्षमा निर्वाचित भएका छन्।
बोर्ड सदस्यमा लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाश राज विजयानन्द, एमिनेन्स वेजका प्रबन्धनिर्देशक नारायण कोइराला, क्विकफक्स कन्सल्टिङका सीईओ पल्लव पराजुली, बीआईसी टेक्नोलोजीकी सह–संस्थापक प्रार्थना साख र रिप्पलबाइट्स सोलुसन्सका सह–संस्थापक सुब्रत ज्ञवाली निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि नास–आईटीको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ। सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँगको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्राथमिकता नयाँ कार्यसमितिको रहने बताइएको छ।
नास–आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो। संस्थाले नीति पैरवी, उद्योग विकास, दक्ष जनशक्ति तथा प्रतिभा विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।
नेपाललाई विश्वसनीय विश्वव्यापी प्रविधि हबका रूपमा स्थापित गर्ने दिशामा समेत नास–आईटीले विभिन्न पहल गर्दै आएको छ।
बाढीका कारण सीमित रूपमा साधारणसभा
यस वर्षको साधारणसभा भने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै सीमित रूपमा सम्पन्न गरिएको नास–आईटीले जनाएको छ।
सभाको सुरुवातमै विपद्मा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। नास–आईटीले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
विपद्को अवस्थालाई ध्यानमा राख्दै संस्थाले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गरी साधारणसभाका औपचारिक तथा वैधानिक कार्यसूची मात्रै अघि बढाएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्