ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले बगाएको वेत्रावतीमा रोकिएको घडी


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ३५   बजे

वेत्रावती । भदौ १० गते भोटेकोशी नदीले विनाश मच्चाएको नवौँ दिन, भदौ १८ गते वेत्रावती पुग्दा दृश्य फेरिएको थियो। कुनै समय मानिसको चहलपहल, व्यापार र आवतजावतले भरिएको बजार अहिले बगरमा परिणत भएको थियो।

नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावती, वेत्रावती र त्रिशूली नदीको संगमस्थल पनि हो। ऐतिहासिक बजारका कारण यो दुई जिल्लाका नागरिकको आवतजावत र भेटघाटको महत्वपूर्ण केन्द्र थियो। तर, भोटेकोशीको विनाशकारी बाढीपछि त्यही वेत्रावती अहिले हजारौँ परिवारको बिछोड र विलापको साक्षी बनेर उभिएको छ।

एकैछिनमा सुनसान भएको बजारमा अहिले सुनिन्छ त केवल नदीको एकोहोरो सुसाइ।

रसुवातर्फबाट वेत्रावती नदी तर्ने पुराना विकल्पहरू बाढीले बगाएको छ। नुवाकोटको ढुङ्गेबजार हुँदै वेत्रावती पुग्ने बाटो त्रिशूली नदीमै विलीन भएको छ।

बाढीले यहाँ बाटो मात्रै बगाएको छैन, मानिसलाई मानिससँग जोड्ने बाटोसमेत बगाएको छ।

‘बसमा स्कुलका बच्चाहरू छन्’

रसुवाको बोगटीटारबाट वेत्रावती प्रवेश गर्ने मुखैमा उत्तरगया स्कुलको एउटा बस ढलेको छ।

बसको पछाडिपट्टि लेखिएको छ— ‘बसभित्र स्कुलका बच्चाहरू छन्।’

तर अहिले बसभित्र विद्यार्थी छैनन्।

पछाडिको सिसा फुटेको छ। त्यहीँबाट भित्र चियाएर हेर्दा बसभरि जमेको बाक्लो लेदो देखिन्छ। सिटहरू पल्टिएका छन्। बाढीको शक्तिले बसलाई खेलौनाझैँ उल्टाइदिएको छ।

त्यसको केही पर उत्तरगया स्कुलकै अर्को बस नदीतिर फर्किएको अवस्थामा सडकबाट ओइरिएको छ। त्यसले पनि उही कुरा भनिरहेको छ— बसमा स्कुलका बच्चाहरू छन्।

तर, ती बसमा अब बच्चाहरू छैनन्।

विद्यालय पुगेर जीवनका नयाँ गन्तव्य खोजिरहेका सयौँ बालबालिकाको यात्रा भोटेकोशीको विनाशकारी भेलसँगै कहाँ पुग्यो, कसैलाई थाहा छैन।

वेत्रावतीमा दुईवटा विद्यालय थिए। एउटा निजी विद्यालय—उत्तरगया बोर्डिङ। आवासीय सुविधासहित सञ्चालन भएकाले धेरै विद्यार्थी विद्यालयमै बसेर पढ्थे। अर्को थियो सरकारी रामचन्द्र प्राथमिक विद्यालय।

रामचन्द्र प्राथमिक विद्यालयमा मात्रै दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत थिए। उत्तरगया बोर्डिङमा करिब चार सय विद्यार्थी थिए।

तीमध्ये कति जना बाढीको भेलमा परे भन्ने यकिन विवरण अझै स्थानीयसँग छैन।

रङका डिब्बा, तर रंगहीन बजार

गेग्रानले भरिएको सडक हुँदै वेत्रावती नदीतर्फ झर्दा दायाँतिर एउटा रङ पसल देखिन्छ।

पसलको र्याकमा रङका डिब्बाहरू उस्तै लहरै सजिएका छन्।

त्यो दृश्य केही बेर नियाल्दा अनौठो अनुभूति हुन्छ।

वेत्रावती बजारका घर, पसल र जीवनका सबै रङ बाढीले बगाइसकेको छ। तर ती रङका डिब्बाहरू भने बाँकी छन्।

अब ती डिब्बाहरूले फेरि वेत्रावतीलाई रंग्याउन सक्लान्?

बजारमा अहिले कुनै चहलपहल छैन। रसुवामा राहत वितरणका लागि पुगेकाहरू ‘वेत्रावती पनि हेरौँ’ भन्दै कहिलेकाहीँ यहाँ आइपुग्छन्।

रसुवा र नुवाकोट जोड्ने पुलनजिकै रहेको प्रहरी चौकीको भवन खोलातिर ढल्किएको छ।

कहिल्यै सुरक्षा दिन बसेको त्यो चौकी अहिले आफैँ असुरक्षित अवस्थामा छ।

र, यहाँ सुरक्षा दिनुपर्ने मानिसहरू र संरक्षित हुनुपर्ने जीवनहरू नै छैनन्।

भान्सामा रोकिएको जीवन

उत्तरगयातर्फको गेटसँगै रहेको एउटा घरको दृश्य झनै हृदयविदारक छ।

भान्साका सामानहरू जसरी राखिएका थिए, उस्तै छन्। कराहीमा पकाउँदै गरेको तरकारी किचन स्ल्याबमाथि टक्क अडिएको छ।

केही क्षणका लागि लाग्छ—घरका मानिसहरू कुनै पनि बेला फर्किएर आउनेछन्।

तर उनीहरू आएनन्।

त्यही तरकारीसँग खाना खाएर जीवन जोगाउने प्रयास गरिरहेका मानिसहरू बाढीको भेलबाट बचे कि बगे, त्यसको उत्तर त्यहाँ कसैसँग छैन।

वेत्रावतीमा जीवन बाढी आउनुभन्दा केही क्षणअघि जहाँ रोकिएको थियो, त्यहीँ रोकिएको देखिन्छ।

अनि देखिन्छ—घडीघर

वेत्रावतीको खण्डहरबीच नुवाकोटतर्फ एउटा घर अझै ठिङ्ग उभिएको छ— घडीघर।

घरको अधिकांश भाग बाढीको प्रहारले क्षतविक्षत छ। वरिपरिका संरचना भत्किएका छन्। कतै घरका भित्तामात्र बाँकी छन्। कतै सामान लेदोमा पुरिएका छन्। कतै रूखका हाँगा र बाढीले बगाएर ल्याएका वस्तुहरू अल्झिएका छन्।

तर यी सबैको बीचमा घडीघर उभिएको छ।

उसका काँटा भने टक्क अडिएका छन्।

वेत्रावतीको सम्पूर्ण त्रासदीलाई एउटा विम्बमा समेट्न यो दृश्य पर्याप्त छ।

बजार बग्यो।
घरहरू बगे।
मानिसहरू बगे।
तर घडी रोकियो।

अर्थात्, वेत्रावतीमा जीवन रोकियो।

घडी चल्नुको अर्थ समय चल्नु हो। काँटा अघि बढ्नुको अर्थ जीवन अघि बढ्नु हो। बिहानपछि दिउँसो आउनु, साँझ पर्नु र आजपछि भोलि आउनु—समयको यही निरन्तर गति जीवनको आधार हो।

तर वेत्रावतीको घडीले यो सामान्य नियम अस्वीकार गरिदिएको छ।

उसका रोकिएका काँटाले मानौँ भनिरहेका छन्—

‘यहाँ समय रोकिएको छ।’

अब यो घडीले समय होइन, मृत्युको समय बताइरहेको छ। बाढीको वेगमा बगेको मृत्यु।

विपत्तिबाट जन्मिएको घडी फेरि विपत्तिको साक्षी

वेत्रावतीको यो घडीघर पनि आफैँ एउटा विपत्तिको सम्झनाबाट जन्मिएको थियो।

२०७२ सालको भूकम्पले पुराना संरचनामा क्षति पुर्याएपछि वेत्रावतीलाई नयाँ स्वरूपमा उठाउने, बजारको पहिचान जोगाउने र मानिसमा आशा जगाउने उद्देश्यले योगेश डङ्गोलले घडीघर निर्माण गरेका थिए। डङ्गोल लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन्।

तर उनलाई सायद त्यतिबेला कहाँ थाहा थियो—विपत्तिपछि आशाको प्रतीक बनेर निर्माण गरिएको यही घडीघर एक दिन अर्को विपत्तिको सबैभन्दा मौन साक्षी बन्नेछ।

आज घडीघरले समय देखाइरहेको छैन।

उसले इतिहास देखाइरहेको छ।

नदी बगिरह्यो, घडी रोकियो

वेत्रावती र त्रिशूली नदी घडीघर नियाल्दै अझै वेगवान् भएर बगिरहेका छन्।

नदीको स्वभाव बग्नु हो। घडीको स्वभाव चल्नु हो।

तर यहाँ दुवैको दृश्य उल्टो छ।

भोटेकोशीको भेलले नबगाउनुपर्ने जीवन बगायो।

र, नरोकिनुपर्ने घडी—रोकियो।

नदी अहिले विनाशको गतिको प्रतीक बनेर बगिरहेको छ।

घडी भने स्थिर स्मृतिको प्रतीक बनेर उभिएको छ।

२३४ वर्ष पुरानो इतिहासको साक्षी

वेत्रावती केवल एउटा बजार थिएन।

यो इतिहासको पनि एउटा महत्वपूर्ण अध्याय थियो। करिब २३४ वर्षअघि नेपाल–चीन युद्ध रोक्ने सन्धिको साक्षी बनेको यही भूगोल आज अर्को ऐतिहासिक घटनाको साक्षी बनेको छ।

तर यसपटक इतिहास युद्ध रोकिएको कथा लेख्न बाध्य छैन।

यसपटक इतिहासले एउटा बाढीको कथा लेख्नेछ।

त्यो बाढी, जसले एकैपटक बस्ती, बजार, घर, सडक, व्यापार, स्मृति र मानिसका वर्षौंका सपना आफ्नो भेलमा बगाएर लग्यो।

अब प्रश्न छ—के वेत्रावती फेरि उठ्ला?

के यो बजारले फेरि जीवन पाउला?

के कुनै दिन यहाँ फेरि पसल खुल्लान्? बालबालिका विद्यालय जालान्? मानिसहरू पुल तरेर आवतजावत गर्लान्?

र, सबैभन्दा ठूलो प्रश्न— के यो घडी फेरि चल्ला?

बेत्रावतीमा बाढीको कहर : एउटै छतमा २४ शव, अझै कति बेपत्ता ?

यदि चल्यो भने, त्यसले नयाँ समय बताउनेछ।

तर के त्यो नयाँ समयले भदौ १० लाई सम्झिरहनेछ?

सायद वेत्रावतीको जीवन फर्किएला। बजार फेरि उठ्ला। घरहरू फेरि बनिएलान्। सडक फेरि खुल्ला।

तर केही कुरा कहिल्यै पुरानै हुँदैनन्।

किनकि बजार पनि मानिसजस्तै हो। मृत्यु भएपछि जीवन फर्किँदैन, स्मृति फर्किरहन्छ।

वेत्रावतीको पनि एउटा स्मृति रहनेछ—इतिहासको, जीवनको र त्यो विनाशकारी बाढीको।

रोकिएको घडीको शोक

घडी रोकिनु समय रोकिनु हो।

समय रोकिनु जीवन रोकिनु हो। र जीवन रोकिनु शोक हो।

आज हामी रसुवागढीदेखि त्रिशूलीसम्म रोकिएका हजारौँ जीवनको शोकमा छौँ।

वेत्रावती पनि त्यही शोक मनाइरहेको छ।

नदी बगिरहेको छ।

घडी रोकिएको छ। र, यी दुईको बीचमा उभिएको वेत्रावतीले एउटै कथा भनिरहेको छ— बाढीले बजार बगायो, तर यहाँ रोकिएको समयले इतिहासलाई सधैँ सम्झाइरहनेछ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

सार्वजनिक पदाधिकारीले पाएका उपहार सार्वजनिक गर्न सर्वोच्चको आदेश

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

प्राकृतिक विपत्ति

विपद्मा पनि हराउन नहुने मानवता

त्रिशूली–३ ए सुरुङबाट तेस्रो व्यक्तिको पनि उद्धार हुँदै

एबीसीसँगको मेरो यात्रा : जिल्लाबाट केन्द्रसम्म, सिकाइदेखि जिम्मेवारीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu