काठमाडौं । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले नुवाकोटसहित रसुवा, धादिङ र चितवनमा पुर्याएको क्षति सामान्य प्राकृतिक विपत्तिको परिभाषाभित्र अटाउने खालको छैन । आँखाले देखेका दृश्यहरू यस्ता छन्, जसलाई शब्दमा उतार्नसमेत कठिन हुन्छ ।
बाढीले नदीको धार मात्र बदलेन, यसले बस्ती, सडक, पुल, विद्यालय, उद्योग, धार्मिकस्थल र मानिसका वर्षौँका सपना समेत बगाएर लग्यो । कतिपय ठाउँमा पहाड चिरेर खोलाले नयाँ बाटो बनाएको छ । कतै कालोपत्रे सडक भिरमा परिणत भएको छ भने कतै सडक नै खोलामा हराएको छ ।
विपत्तिपछि प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न पुगेका एक स्थानीयका लागि यो यात्रा केवल विनाश हेर्ने यात्रा थिएन, आफ्नै सम्झना, इतिहास र पहिचानलाई भग्नावशेषमा खोज्ने यात्रा पनि थियो ।
विनाशको त्यो पहिलो दृश्य
विदुरबाट सिमुटार हुँदै गेर्खुटारसम्मको कच्ची बाटो पार गर्दै ढुङ्गेसम्म पुग्दा वरपरको दृश्यले मन थाम्नै नसक्ने बनाएको थियो ।
माथिबाट त्रिशूली बजार, पुरानो बजार र ढुङ्गेतर्फ हेर्दा मानिसहरूको चहलपहल हुने बजारहरू एकाएक उजाड देखिन्थे । उच्च शिक्षाका लागि रसुवा र नुवाकोटका विद्यार्थी पुग्ने सदरमुकाम, ऐतिहासिक मन्दिर, सरकारी कार्यालय, बैंक तथा व्यापारिक केन्द्रहरू सबै बाढीको निशानामा परेका थिए ।
इतिहास बोकेको झोलुङ्गे पुल, केही वर्षअघि मात्रै बनेको पक्की पुल, निर्माणाधीन जलविद्युत् आयोजना, पुरानो बजार क्षेत्र, त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालय र राम मन्दिरजस्ता संरचना कहाँ थिए भनेर पहिल्याउनसमेत मुस्किल थियो ।
विद्यालयको दुईतले भवन बालुवा र लेदोले पुरिएको थियो । व्यापारिक भवनहरू जरैदेखि उखेलिएका थिए । पहिले सडकबाट तल हेर्दा मात्रै देखिने त्रिशूली नदी अब सिङ्गो मानव बस्तीमाथिबाट बगेजस्तो देखिन्थ्यो ।
वेत्रावतीसम्म पुग्ने योजना भए पनि सडक ध्वस्त भएकाले गेर्खुटारभन्दा अघि बढ्न सकिएन ।
सयौँ बिघा खेतीयोग्य जमिन बालुवा र गेगरले पुरिएका छन् । करोडौँ रुपैयाँ लगानीमा सञ्चालित मत्स्यपालन, जलविद्युत् आयोजना, ब्लक कारखाना, तारजाली उद्योग र खाद्यान्न उद्योगहरू पनि बाढीको चपेटामा परेका छन् ।
रसुवा जोड्ने मुख्य सडक गेर्खुबाटै विच्छेद भएको छ । कतै ७–८ किलोमिटर कालोपत्रे सडक भिर बनेको छ, कतै त्यही सडक खोलामा परिणत भएको छ ।
बेत्रावती : इतिहासको भूमि, आज मरुभूमिजस्तै
उत्तरगयाका रूपमा परिचित धार्मिक तथा ऐतिहासिक भूमि बेत्रावती, जहाँ नेपाल–तिब्बत सन्धि भएको इतिहास जोडिएको छ, आज मरुभूमिजस्तै देखिन्छ ।
बेत्रावतीको बस्ती पूरै बाढीले ढाकेको छ । सयौँ परिवार घरबारविहीन भएका छन् ।
जहाँ केही समयअघिसम्म घर, पसल र मानिसहरूको चहलपहल थियो, त्यहाँ अहिले लेदो, बालुवा र भग्नावशेष मात्रै देखिन्छ ।
कति मानिस बाढीसँगै बेपत्ता भए ? कतिले परिवारका सदस्य गुमाए ? कतिको परिवार नै समाप्त भयो ? यसको पूर्ण विवरण निकाल्नसमेत कठिन छ ।
बट्टारदेखि देवीघाटसम्म डर र त्रास
दिउँसो करिब २ बजे बट्टारमा खाना खाएर स्थानीयसँग पीडा साटासाट गरियो ।
बट्टार, त्रिशूली र विदुरभन्दा केही उचाइमा भएकाले तुलनात्मक रूपमा सुरक्षित देखिए पनि मानिसहरूको मनमा भने त्रास गहिरो थियो । सामाजिक सञ्जालमा फैलिएका अपुष्ट तथा भ्रामक सूचनाका कारण कतिपय मानिस रातारात माथिल्लो नुवाकोट, पिपलटार र बेलकोटतर्फ जाने गरेका थिए ।
बट्टार इनारपाटीतल भर्खरै सञ्चालनमा आएको क्षेत्रीय कारागारको तल्लो भाग तथा बुनिबेँसीस्थित सौर्य विद्युत् परियोजनासमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
त्यसपछि चन्द्रज्योति स्कुल पुग्दा देवीघाट क्षेत्रका प्रभावितहरूलाई अस्थायी होल्डिङ सेन्टरमा राखिएको थियो ।
त्यहाँको रुवाबासी र चित्कारले विपत्तिको वास्तविक गहिराइ देखाउँथ्यो ।
कसैको घर थिएन । कसैका आफन्त सम्पर्कविहीन थिए । सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरू भने दिनरात खटिएर दाताबाट प्राप्त राहत सामग्री वितरण गरिरहेका थिए ।
देवीघाट : जहाँ इतिहास पनि घाइते भयो
देवीघाट नाम सुन्नासाथ नुवाकोटको इतिहास, धर्म र संस्कृतिको चित्र आँखाअगाडि आउँछ—राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको समाधिस्थल, जालपादेवी मन्दिर तथा तादी र त्रिशूलीको संगम ।
तर आज त्यही देवीघाट खण्डहर बनेको छ ।
त्रिशूली किनारका ठूला भवनहरू जरैदेखि भत्किएका छन् । झोलुङ्गे पुलको नामोनिसान छैन । तादीको पक्की पुलको अवशेषसमेत पहिल्याउन कठिन छ । घरका चार तलासम्म बाढी पसेको छ । छतछतमा ठूला रुखहरू अड्किएका छन् ।
विसं २०६२/६३ सालतिर एसएलसी तयारी कक्षाका लागि तीन महिना बसेको ठाउँलाई यसरी ध्वस्त भएको देख्दा पुराना स्मृति पनि भग्नावशेषसँगै जोडिएर आउँछन् ।
मानिसहरू हिलो र लेदोभित्र पसेर बचेकुचेका लुगाफाटा र कागजात खोजिरहेका थिए । जालपादेवी मन्दिर र नुवाकोटको पहिलो वृद्धाश्रमसमेत लेदोले भरिएका छन् । बाढीले बगाएर ल्याएका मृत पशुचौपायाका कारण दुर्गन्ध फैलिन थालेको छ । त्रिशूली नदी पहिलेभन्दा निकै माथि आएर बगिरहेको छ ।
कतिपय स्थानमा ८–१० फिटसम्म लेदो र बालुवा जमेको छ । अब त्यहाँ फेरि पुरानै शैलीमा बस्ती बसाउन सम्भव होला कि नहोला भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
अबको बाटो : दोष होइन, सहयोग र पुनरुत्थान
यस्तो विपत्तिको घडीमा पहिलो प्राथमिकता मानिसको ज्यान बचाउनु, घाइतेको उपचार गर्नु र प्रभावितलाई तत्काल सहायता पुर्याउनु हो ।
सीमित स्रोतसाधनका बीच सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय युवाले गरिरहेको प्रयास प्रशंसनीय छ ।
यो समय एक–अर्कामाथि आरोप लगाउने वा राजनीति गर्ने समय होइन । यो घाउमा मल्हम लगाउने समय हो ।
सरकार एक्लैले यति ठूलो दायित्व पूरा गर्न सक्दैन । नागरिकले पनि आफ्नो ठाउँबाट श्रम, अर्थ, राहत वा सीपमार्फत सहयोग गर्नुपर्ने समय हो । कसैका लागि सानो देखिने सहयोग अर्को परिवारका लागि जीवनको ठूलो सहारा बन्न सक्छ ।
अहिले क्षतिको पूर्ण आकलन गर्नसमेत कठिन छ । कहाँबाट काम सुरु गर्ने ? कसरी पुनर्निर्माण गर्ने ? आवश्यक स्रोत र साधन कसरी जुटाउने ?
प्रश्नहरू धेरै छन् । तर निराश भएर बस्ने विकल्प छैन ।
बालुवा र लेदोले ढाकिएको भूमिमा फेरि जीवन फर्काउनुपर्छ । खण्डहर बनेका बजारमा फेरि व्यापार चलाउनुपर्छ । विद्यालयमा फेरि बालबालिकाको हाँसो गुञ्जाउनुपर्छ । उजाड बनेका खेतमा फेरि हरियाली फर्काउनुपर्छ ।
कठिन घडीमा सहयोग गर्ने दाता, संघसंस्था, कूटनीतिक नियोग र शुभेच्छुकहरूप्रति प्रभावित क्षेत्रका नागरिक नतमस्तक छन् ।
अब एउटै सङ्कल्प आवश्यक छ—“विनाशबाट विकासतर्फ, पीडाबाट पुनर्जन्मतर्फ र निराशाबाट आशातर्फ।” त्रिशूलीको भेलले धेरै कुरा बगाएर लग्यो ।
तर हाम्रो साहस, एकता र आशा बगाउन सकेन । हामी फेरि उठ्नेछौँ । हामी फेरि बनाउनेछौँ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्