काठमाडौं । ‘बाढी आयो रे!’
छिमेकीले खबर सुनाउँदा नुवाकोटको विदुर–७, चापाफेदीकी माइली तामाङले खासै वास्ता गरिनन्। उनलाई लाग्यो—अस्तिउँदोकै जस्तो बाढी होला, आउँछ र जान्छ।
तर रसुवामा बजारै बगाएको खबर आयो। त्यसपछि उनको मनमा चिसो पस्यो।
माइलीको घरमा छोरा, छोरी, बुहारी र नातिनातिनासहित १५ जनाको परिवार थियो। उनका श्रीमान् चोक्ता तामाङ रसुवातिर गएका थिए। घरका सबै बालबालिका स्कुल पुगिसकेका थिए।
जेठी छोरी फूलमायाले घरका छ जना साना बच्चालाई खाना खुवाएर स्कुल पठाएकी थिइन्। त्यसबेला घरमा माइली, दुई बुहारी वीरमाया र सविता तथा फूलमाया गरी चार जना मात्र थिए।
अचानक ठूलो बाढी आउँदैछ भन्ने खबर आयो।
मनमा एउटै डर पलायो—‘बच्चाहरूलाई बाढीले बगाउने हो कि?’
किनकि उनीहरूका बच्चाहरू पढ्ने रामचन्द्र स्कुल नदीको नजिकै थियो।
अरू मानिसहरू घर छाडेर सुरक्षित ठाउँतिर भाग्न थाले। तर यी चारै जना उल्टै बच्चा खोज्दै स्कुलतिर दौडिए।
स्कुल पुग्न नपाउँदै बाढीले उनीहरूलाई आफ्नो लपेटामा पार्यो।
माइली जसोतसो ज्यान जोगाएर घर फर्किइन्।
तर फूलमाया, वीरमाया र सविता फर्किएनन्।
उता रामचन्द्र स्कुलमा पढ्न गएका छ जना बालबालिकालाई पनि बाढीले बगायो।
१५ बाट ६ जनामा झर्यो परिवार
रसुवा पुगेका चोक्ताले आफ्ना नातिनातिना, छोरी र बुहारी बाढीमा बेपत्ता भएको खबर पाए।
त्यसपछि उनी घर फर्किए।
घरमा पुग्दा आफू निस्कँदा रहेको १५ जनाको परिवारमध्ये छ जना मात्र बाँकी थिए।
आफ्नै घर, आफ्नै परिवारको त्यो अवस्था देख्दा उनको छातीभित्र के भयो, उनले शब्दमा भन्न सकेनन्।
बेपत्ता भएकाहरू फर्किएर आउने आशा परिवारले लगभग मारिसकेको छ। अब उनीहरू शव भेटिएला कि भन्ने प्रतीक्षामा छन्।
चोक्ताका जेठा छोरा कमलबहादुरले श्रीमती वीरमाया, ११ वर्षीया छोरी अश्विना, ९ वर्षीय छोरा अश्विन र ३ वर्षीया छोरी अनुष्का गुमाएका छन्।
कान्छा छोरा वीरबहादुरले श्रीमती सविता, ६ वर्षीय छोरा सचिन र ३ वर्षीया छोरी सोफिया गुमाएका छन्।
परिवारले जेठी दिदी फूलमायालाई पनि गुमाएको छ।
एउटै परिवारका छोरी–बुहारी र साना नातिनातिनासहित नौ जना बाढीमा परेपछि चापाफेदीको त्यो घरमा अहिले बालबालिकाको चहलपहल छैन।
तेस्रो पुस्तामा सरोज मात्रै
फूलमायाका छोरा सरोज भने बाँच्न सफल भए।
चण्डेश्वरी माध्यमिक विद्यालयमा पढ्ने उनी हिलाम्मे अवस्थामा स्कुलबाट सुरक्षित स्थानमा पुगेका थिए।
तर १५ वर्षका सरोजले आफ्नी आमालाई गुमाएका छन्।
सरोजका बुवा उनी जन्मिएको केही समयपछि दुर्घटनामा परेका थिए। दुर्घटनाबाट बाँचे पनि पछि मिर्गौला फेल भएर उनको मृत्यु भयो।
त्यसपछि फूलमायाले माइतीमै बसेर छोरालाई हुर्काइन्।
१४ वर्षअघि बुवा गुमाएका सरोजले अहिले आमा पनि गुमाएका छन्।
बोली नफुट्दै बुवा गुमाएका उनी आमाकै सहारामा हुर्किए। अहिले १५ वर्षको उमेरमा त्यही एक मात्र सहारा पनि बाढीले खोसेको छ।
आमा बेपत्ता भएको खबर सुनेयता सरोज एकोहोरो टोलाइरहन्छन्।
बाढीले उनको घर मात्र होइन, उनको परिवारको तीन पुस्ताबीचको सम्बन्ध पनि चुँडाइदिएको छ।
‘बच्चाहरूकी प्यारी थिइन् फूलमाया’
चोक्ताकी कान्छी छोरी आइतीमाया तामाङकी ४ वर्षीया छोरी अन्शिका तामाङ पनि बाढीमा बेपत्ता छिन्। उनी एलकेजीमा पढ्थिन्।
बाढी आएको खबर सुनेपछि बच्चाहरूलाई लिन दौडिँदा आमा, दिदी र दुई बुहारी बाढीको चपेटामा परेको आइतीले सुनाइन्।
‘लौन नि, यो बाढीले त सबै बगाउने भयो। साना भुरालाई पनि बाढीले लग्ने भयो भनेर बच्चा लिन गएका, कहिल्यै नफर्किने गरेर गए,’ उनले भनेकी छन्।
आइतीका अनुसार फूलमाया घरका सबै साना बच्चाहरूको हेरचाह गर्थिन्। भाइबहिनीका बच्चालाई पनि आफ्नै सन्तानजस्तै माया गर्थिन्।
‘दिदीले बच्चाहरूलाई आमाजत्तिकै माया गर्नुहुन्थ्यो। अब त्यही दिदी त्यस्तोमा पर्नुभयो,’ आइतीले रुँदै भनिन्।
छोरीलाई पढाउने सपना पनि बाढीले लग्यो
आइतीको श्रीमान्सँग सम्बन्ध राम्रो छैन। उनी प्रायः माइतीमै बस्दै आएकी थिइन्। श्रीमान् पनि कामको सिलसिलामा धेरैजसो विदेशमा रहने गर्छन्।
उनका १३ वर्षीय छोरा श्रीमान्को घरमा बस्दै आएका थिए भने छोरी अन्शिका उनीसँगै माइतीमा थिइन्।
छोरीलाई शिक्षित र सक्षम बनाउने आइतीको एउटै सपना थियो।
तर भोटेकोसीको बाढीले त्यो सपना पनि खोसेर लग्यो।
बिहानसम्म ‘ममी–ममी’ भन्दै पछि लागिरहने छोरीको आवाज अब कहिल्यै सुन्न नपाउँदा आइतीलाई संसार नै सकिएजस्तो लागेको छ।
‘छोरीले माथिको घरमा दादालाई भेट्न जान्छु भनेकी थिइन्, आफ्नो दाजुलाई भेट्न नपाउँदै संसारै छोडिन्,’ आइती भक्कानिइन्।
आइतीका अनुसार उनका श्रीमान्ले छोरीलाई पनि आफ्नो बुवाआमासँग राख्न चाहेका थिए। तर भर्खर स्कुल जान थालेकी छोरीलाई त्यता नपठाएर उनले माइतीमै राखेकी थिइन्।
अहिले भने श्रीमान्ले पनि ‘तैँले गर्दा छोरीलाई यस्तो भयो’ भन्ने गरेको उनले सुनाइन्।
‘मैले के गर्नु?’ उनी प्रश्न गर्छिन्, ‘अहिले त मलाई पनि छोरीलाई माथि घरमा राखेको भए यस्तो हुँदैनथ्यो होला जस्तो लाग्छ।’
बालबालिकाको आवाज हराएको घर
घरका स–साना बच्चासहित नौ जनालाई बाढीले बगाएपछि चोक्ताको परिवारमा सन्नाटा छ।
हिजोसम्म केटाकेटी खेलेको, उफ्रेको, कुदेको र हाँसेको आवाज सुनिने घरमा अहिले मौनता छ।
आवाज सुनिन्छ त केवल—कोही स्वर दबाएर रोइरहेको।
अवरुद्ध गला सफा गरिरहेको।
बाँचेकाहरू एकअर्काको अनुहार हेर्छन्। एकअर्कालाई सम्हाल्न खोज्छन्।
तर आफैं सम्हालिन सकेका छैनन्।
अहिले चोक्ताको छ जनाको परिवार गाउँकै एक प्रहरीको घरमा आश्रय लिएर बसेको छ।
घर पनि सुरक्षित छैन। बाढी पसेर धराप भएको छ।
त्यसैले अहिले उनीहरूको सबैभन्दा ठूलो चिन्ता बाँचेका परिवारजनको भविष्य हो।
विशेषगरी बुवाआमा दुवै गुमाएका सरोजको।
‘सरोजलाई सरकारले पढाइदिए हुन्थ्यो’
आइतीको अब एउटै आग्रह छ—जे हुनु भइसक्यो, तर दिदीको छोरा सरोजको भविष्य नबिग्रियोस्।
‘सरोजलाई पढाउन सक्ने अवस्था छैन हाम्रो,’ आइतीले भनिन्, ‘भएको घरमा पनि बाढी पसेर धराप भएको छ।’
चोक्ताको पनि उस्तै चाहना छ।
आफूहरूले गुमाएका आफन्त फर्काउन सक्ने अवस्था अब छैन। तर परिवारको तेस्रो पुस्तामा बाँकी रहेको १५ वर्षीय नाति सरोजको शिक्षादीक्षाको जिम्मेवारी सरकारले लिइदिए हुन्थ्यो भन्ने उनको आग्रह छ।
भोटेकोसीको भेलले एउटा परिवारका सदस्य मात्रै बगाएको छैन।
उसले एउटा आमाको संसार, एउटा किशोरको सहारा, साना बालबालिकाको भविष्य र एउटा घरको पुस्तौँदेखिको चहलपहल नै बगाएर लगेको छ।
अब त्यो घरमा बाँकी छ—बाढीले खोसेका अनुहारहरूको सम्झना र बाँचेकाहरूको अनिश्चित भविष्य।

Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्