काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जन १० दिनपछि शुक्रबार जीवितै उद्धार भएका छन्।
नेपाली सेनासहित विज्ञ तथा प्राविधिकको टोलीले शुक्रबार बिहान महर्जनको सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर सैनिक अस्पताल छाउनीको आईसीयूमा उपचार भइरहेको छ।
श्रीमान्लाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हिराशोभा महर्जनले कविर सकुशल फर्किएपछि परिवारमा खुसीको सीमा नरहेको बताइन्।
उनका अनुसार कविरले सुरुमा उनलाई समेत चिन्न सकेका थिएनन्। अहिले भने केही बोल्न सक्ने अवस्थामा छन्।
‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ। आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन। मलाई नै चिन्नुभएन सुरुमा त,’ हिराशोभाले भनिन्।
उनका अनुसार कविरको खुट्टामा सामान्य चोट लागेको छ भने शरीर पहेँलो देखिएकाले चिकित्सकको निगरानीमा राखिएको छ।
‘अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। खुट्टामा थोरै चोट लागेको छ। उहाँको सबै शरीर नै पहेँलो भएको छ,’ उनले भनिन्।
१० दिनसम्म सुरुङभित्र फसेका श्रीमान् जीवितै फर्किने आशा परिवारले लगभग गुमाइसकेको उनले बताइन्।
‘उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन। उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ। परिवारमा सबै खुसी हुनुभएको छ,’ हिराशोभाले भनिन्।
कविरको उद्धारका लागि खटिएको नेपाली सेना तथा उद्धार टोलीप्रति उनले आभार व्यक्त गरिन्।
‘नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यवाद,’ उनले भनिन्।
कविर महर्जन त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्