काठमाडौं । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले तीन इरानी तेल ट्यांकरमा आक्रमण गरी नष्ट गरेको जनाएको छ।
सेन्टकमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले क्षेत्रमा गस्ती गरिरहेका दुई अमेरिकी नौसेना जहाजमा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सेनाले जवाफी कारबाही गरेको हो।
आईआरजीसीले अमेरिकी विमानवाहक जहाज र निर्देशित क्षेप्यास्त्र विनाशकलाई निसाना बनाए पनि दुवै जहाज सुरक्षित रहेको र अमेरिकी सेनातर्फ कुनै क्षति नभएको सेन्टकमले जनाएको छ।
त्यसपछि खार्ग टापुनजिकै ‘डाउनी’ र जास्क टापुनजिकै ‘स्टार्क–१’ नामका दुई इरानीसम्बद्ध कच्चा तेल ट्यांकरमा आक्रमण गरिएको सेन्टकमले जनाएको छ। ओमानको खाडीमा रहेको अर्को खाली ट्यांकरलाई पनि निसाना बनाइएको थियो।
सेन्टकमका अनुसार ती तीनवटै ट्यांकर इरानको ‘छाया फ्लिट’ भनिने बहु-अर्ब डलरको तेल ढुवानी सञ्जालसँग सम्बन्धित छन्। ट्यांकर ट्र्याकिङ वेबसाइट ‘ट्यांकर ट्र्याकर्स’ले भने तीनवटै ट्यांकर खाली रहेको जनाएको छ।
सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आईआरजीसीलाई अमेरिकी जहाजमा आक्रमण गरे ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
यसअघि इरानी सञ्चारमाध्यमले पनि खार्गबाट करिब ६ माइल टाढा रहेको इरानी ट्यांकरमा चार अमेरिकी क्षेप्यास्त्र प्रहार भएको जनाएका थिए।
घटनाबारे इरानले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्