काठमाडौं । भारतको नयाँ दिल्लीस्थित सत्य निकेतनमा बहुमञ्जिला होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
आइतबार दिउँसो भत्किएको उक्त भवनबाट १० जनालाई उद्धार गरी अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ।
भत्किएको भवनमा ‘होस्टेल डेज’ नामको आवासीय सुविधा सञ्चालनमा रहेको थियो। प्रहरीका अनुसार यहाँ विद्यार्थी तथा अन्य व्यक्तिका लागि पेइङ गेस्ट (पीजी) सुविधा उपलब्ध थियो। करिब ३० जना विद्यार्थी उक्त निजी होस्टेलमा बस्दै आएको प्रहरी स्रोतले जनाएको छ।

बेसमेन्टमा भइरहेको कामपछि भवन भत्किएको आशंका
प्रारम्भिक अनुसन्धानअनुसार भवनको भुइँतलामा मर्मत तथा निर्माणको काम भइरहेको थियो। त्यसक्रममा बेसमेन्ट खन्ने कामसमेत भइरहेको र त्यसले भवनको जग कमजोर बनाएको हुनसक्ने स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि भवन पुरानो रहेको र बेसमेन्टमा भइरहेको उत्खननका क्रममा एउटा पिलर सरेपछि भवन भत्किएको प्रारम्भिक जानकारी आएको बताएकी छन्। उनले भवन पीजीका रूपमा प्रयोग भइरहेको र त्यसमा विद्यार्थीहरू रहेको जानकारी दिएकी छन्।
घटनापछि आसपासको एउटा भवनसहित केही आवासीय संरचना सावधानीका लागि खाली गराइएको छ। विद्युत् आपूर्तिसमेत प्रभावित भएको बताइएको छ।

उद्धारमा चुनौती, हातैले हटाइयो भग्नावशेष
भग्नावशेषमुनि मानिस पुरिएको आशंका रहेकाले उद्धार कार्य निकै सावधानीपूर्वक अघि बढाइएको छ।
ठूला मेसिन प्रयोग गर्दा हुने कम्पन र दबाबले भग्नावशेषमुनि रहेका व्यक्तिलाई थप जोखिम हुनसक्ने भएकाले उद्धार टोलीले एक–एक टुक्रा गर्दै हातैले भग्नावशेष हटाएर खोजी गरिरहेको थियो। उद्धारकर्मीहरूले भग्नावशेषभित्रबाट कुनै आवाज आउँछ कि भनेर समेत ध्यानपूर्वक सुनिरहेका थिए।
दिल्ली विश्वविद्यालयका साउथ क्याम्पसकी निर्देशक प्राध्यापक रजनी अब्बीका अनुसार भग्नावशेषमा फसेका केही विद्यार्थीले विश्वविद्यालयका शिक्षकलाई फोन तथा भिडियो कल गरेका थिए। उनीहरू कति जना थिए र उनीहरूको अवस्था कस्तो थियो भन्ने यकिन भने भइसकेको थिएन।
विद्यार्थीहरूलाई सुरक्षित राख्न साउथ क्याम्पसअन्तर्गतका मैत्रेयी कलेज र जिजस एन्ड मेरी कलेजलाई पीजी खाली गर्नुपर्ने विद्यार्थीको अस्थायी आवासका रूपमा खोलिएको थियो।
भवन मालिकविरुद्ध मुद्दा
प्रहरीले भवनका कथित मालिक हरि रामसहित अन्य व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत गैरइरादतन हत्या, भवन निर्माण वा मर्मतका क्रममा लापरबाही तथा ज्यान जोखिममा पार्ने लापरबाहीपूर्ण कार्यसम्बन्धी धारामा एफआईआर दर्ता गरिएको दक्षिण–पश्चिम दिल्लीका डीसीपी अमित गोयलले बताएका छन्।
घटनापछि आइतबार रातिसम्म आरोपितमध्ये कोही पनि पक्राउ परेका थिएनन्। उनीहरूको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन गरिएको गोयलले बताएका छन्।
मुख्यमन्त्री रेखा गुप्ताले घटनामा भवन मालिक वा सम्बन्धित सरकारी अधिकारी जोसुकै जिम्मेवार भए पनि कारबाहीबाट उम्कन नदिने बताएकी छन्।
विद्यार्थी बस्ने क्षेत्रमा सुरक्षामाथि प्रश्न

सत्य निकेतन दिल्ली विश्वविद्यालयको साउथ क्याम्पस तथा आसपासका कलेजमा अध्ययन गर्ने विद्यार्थीको प्रमुख आवासीय क्षेत्र हो। यहाँ निजी घर तथा भवनहरूमा ठूलो संख्यामा विद्यार्थी पीजी तथा होस्टेलमा बस्ने गरेका छन्।
घटनापछि विद्यार्थीको आवासीय सुरक्षामाथि प्रश्न उठेको छ। कांग्रेस नेता राहुल गान्धीले कलेज तथा विश्वविद्यालयमा पर्याप्त होस्टेल नभएकै कारण विद्यार्थीहरू निजी पीजीमा बस्न बाध्य भएको र कतिपय स्थानमा ठूलो संख्यामा विद्यार्थी एउटै भवनमा बस्ने गरेको भन्दै संरचनागत सुरक्षामाथि प्रश्न उठाएका छन्।
घटनापछि अखिल भारतीय विद्यार्थी परिषद्का कार्यकर्ताले दिल्ली नगर निगमको कार्यालयमा प्रदर्शन गर्दै भवन दुर्घटनाको जिम्मेवारी लिनुपर्ने र निगम आयुक्तको राजीनामा माग गरेका थिए। प्रहरीले प्रदर्शनकारीमध्ये करिब १५ जनालाई नियन्त्रणमा लिएको थियो।
यसअघि पनि सन् २०२२ मा सत्य निकेतनमै निर्माण तथा मर्मत भइरहेको तीनतले घरको छत भत्किँदा दुई जनाको मृत्यु र केही घाइते भएका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्