नारायणगढ। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि यातायात सञ्चालनका लागि डाइभर्सन निर्माण भइरहेका बेला माथिल्लो भिरमा धाँजा फाटेका चिरा देखिएपछि पहिरोको जोखिम बढेको छ ।
डाइभर्सनको ट्र्याक खोलिएको स्थानभन्दा माथि १० देखि १५ मिटर लम्बाइका पाँचदेखि सातवटा चिरा देखिएका छन् । एक हातभन्दा बढी चौडाइका ती चिरा पहिरोका दृष्टिले जोखिमपूर्ण रहेको भूगर्भविद् संयोग खनालले बताए ।
चिराबाट पानी भित्र पसे ठूलो पहिरो जान सक्ने र त्यसले राजमार्गमा दीर्घकालीन समस्या निम्त्याउन सक्ने खनालको भनाइ छ । कृष्णभीर पुरानो पहिरोमा अडिएको क्षेत्र भएकाले चिराको गहिराइ र भूसतहको अवस्था अध्ययन गरेपछि मात्रै जोखिमको यकिन गर्न सकिने उनले बताए ।
जियो टेक्निक सोसाइटीका महासचिव कल्पना अधिकारीले पनि चिरा परेको भागको तत्काल मर्मत र सुधार आवश्यक रहेको बताइन् । त्रिशूली नदीको कटानबाट बचाउन टो वाल निर्माणसँगै माथिल्लो भिरमा पानी प्रवेश रोक्ने र पहिरो नियन्त्रणका उपाय अपनाउनुपर्ने उनको सुझाव छ ।
त्रिशूली नदीको कटानका कारण राजमार्ग भासिएको हो । नदी कटान रोक्न निर्माण गरिएको करिब सय मिटर लामो टो वाल भत्किएपछि करिब १२० मिटर लम्बाइ र नौ मिटर चौडाइमा सडक भासिएको थियो ।
सडक विभागले राजमार्ग सञ्चालनका लागि शुक्रबारदेखि भिर कटान सुरु गरेको छ । अहिले आठ मिटर चौडाइ र २६० मिटर लम्बाइमा कटान गरी एकतर्फी ट्र्याक खोलिएको छ । सोही ट्र्याक विस्तार गरी दुई लेन बनाएर यातायात सञ्चालन गर्ने तयारी छ ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले कृष्णभीर कमजोर भूसतह र पुरानो पहिरोको जोखिम क्षेत्र भएको जानकारी हुँदाहुँदै सडक खुलाउने काम अघि बढाइएको बताए । माथिल्लो भागमा देखिएका चिरा हुँदै स्लोप कटान गरी पानी प्रवेश रोक्ने र पहिरो नियन्त्रणका लागि मर्मत तथा सुधारको योजना अघि बढाइएको उनले जानकारी दिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्