नवलपरासी, ११ वैशाख । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रोशनबहादुर गाहा मगरले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
उहाँले कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा कक्षा ४ की ९ वर्षीया अंशु न्यौपाने र वर्ष ११ का विशाल न्यौपानेको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभएको हो ।
भर्ना गरिएका विद्यार्थी दुवै अभिभावक गुमाएका बालबालिका हुन् । प्रदेशसभा सदस्य गाहाले अभिभावकत्व ग्रहण गरेका बालबालिका दाजु र बहिनी हुन् ।
गाहाले अभिभावकत्व ग्रहण गरेका बालबालिका देवचुली नगरपालिका निवासी रहेका छन् । उनीहरुले आफ्नो अभिभावक गुमाएपछि कावासोती–३ निवासी विशाल थापाले विगत चार वर्षदेखि संरक्षण गर्दै आएका थिए ।
राष्ट्रिय भर्ना अभियान, २०७५ अन्तर्गत र नेपाल सरकारले तय गरेको कार्यक्रमअनुसार सांसद गाहाले सोमबार दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
अभिभावकत्व ग्रहण गर्दै प्रदेशसभा सदस्य गाहाले अभिभावक गुमाएका बाल बालिका अंशु र विशालको अभिभावकत्व ग्रहण गर्न पाएकोमा खुशी व्यक्त गर्दै आम बालबालिकाले शिक्षा प्राप्त गर्न नसकेसम्म देश आर्थिक समृद्धितर्फ नजाने भएकाले देशको आर्थिक समृद्धिका लागिसमेत सबै बालबालिकालाई शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
जनविकास विद्याश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद न्यौपानेलगायतले शिक्षालाई सबैको पहँुचमा पु¥याउन सरकारले ठोस नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्