काठमाडौं, १७ वैशाख । ओमानको मावेलामा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् ।
ओमानको प्रहरीले ती नागरिकहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला उनको उद्धार गरेको हो। घटनामा संलग्न व्यक्तिहरुको अहिले फरार छन् ।
उनी १६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी थिइन् । ८ महिना स्पोन्सरको घरमा काम गरेपछि उनी त्यहाँबाट भागेकी थिइन ।
उनलाई एक जना बङगाली नागरिकले राम्रो काम लगाइदिन्छु भन्दै शुक्रबार दिउँसो मस्कटबाट झण्डै २० किलोमिटर टाढा मावेलामा पुर्याएपछि अरु पाँच जना साथीलाई जिम्मा लगाएका थिए ।
शुक्रबार राती बलात्कार गरेको र शनिबार बिहान मारेर फाल्ने योजना बनाउँदै गर्दा एउटा निर्माणाधिन भवनको शौचालयबाट उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बलात्कारपछि घटना सार्वजनिक हुने डरले आफ्नो हत्या गर्न खोजेको पीडितले बताएकी छिन् ।
समुहमा रहेका मध्ये एक व्यक्तिले मार्नु हुँदैन भनेर भनेपछि उनीहरूबीच विवाद भएको र त्यही विवादका क्रममा भागेर शौचालयमा लुकेर प्रहरीलाई खबर गरेको पीडितको भनाइ छ । खबर गरेको २० मिनेटमा प्रहरी आउँदा बलात्कारमा संलग्न व्यक्ति भागिसकेका थिए ।
युवतीको झोलामा रहेको केही नगद पनि उनीहरुले चोरेका छन् । प्रहरीले उद्दार गरेपछि पीडित युवती एनआरएनए ओमानको सम्पर्कमा आएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्