काठमाडौं, २१ वैशाख । सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ ।
गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभएको हो ।
महानिर्देशक भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यवसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आजै साँझदेखि लागु हुने रुट परमिट निलम्बन गर्ने तयारी भइरहेको बताउनुभयो । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उहाँले बताउनुभएको हो ।
त्यसैगरी सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सुचना प्राप्त भएको भन्दै उहाँले बैँक खाता रोक्नका लागि गृह मन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।
बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्काका लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्र पठाउने तयारी भइरहेको भट्टराइले बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथ ामहासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समितिका पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।
सरकारले यातायात व्यवसायीमाथि कुनै अन्याय नगरेको दावी गर्दै उहाँले ऐनमा भएका व्यवस्था लागु गर्न खोज्दा व्यवसायीले अनावश्यक रुपमा आपत्ति प्रकट गरेका आरोप लगाउनुभयो ।
‘२०४९ को ऐनलाई कार्यविधिमार्फत लागु गर्न खोजिएको हो । प्रतिस्पर्धी व्यवसायीलाई प्रोत्साहन गर्ने सर्वोच्चको आदेशअनुसार पनि सरकार चल्न खोजेको हो । तर व्यवसायीले कार्यविधी नै पढेनन्, कुरै नबुझी विरोध गरिरहेका छन्’ भट्टराईले भन्नुभयो ।
सरकार सम्झौता गर्दैन । अब यातायात क्षेत्र यात्रुमैत्री र सुविधायुक्त हुन्छ । नयाँ व्यवसायीलाई पनि आकर्षित गर्छौँ । तर सरकार एक कदम पछि हट्दैन’ उहाँले भन्नुभयो ।
यातायात व्यवसायीले भने आज देशभर सवारी साधन ग्यारेजमा थन्क्याएर बसेका छन् । जसका कारण यात्रुले सास्ती खेप्नु परेको छ । भट्टराईले व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएमा निजी विद्यालय, प्रहरी, नेपाली सेनालगायतका विभिन्न क्षेत्रका बसहरु प्रयोग गरेर यात्रुलाई सेवा दिने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्